आईपीएलमा चेन्नई शीर्ष स्थानमा उक्लियो, कोलकाता १८ रनले पराजित

९ वैशाख २०७८ चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ ।
आईपीएल अन्तर्गत लगातार तेस्रो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सलाई १८ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा पुगेको हो । २ सय २१ रनको लक्ष्य पछ्याएको कोलकाता ५ बल अगावै २ सय २ रनमा अलआउट भयो ।
कोलकाताका प्याट कमिन्स ६६ रनमा अविजित रहे । त्यस्तै आन्द्रे रसेलले ५४ तथा दिनेश कार्तिकले ४० रन जोडे । चेन्नईका दीपक चहरले चार तथा लुंगी एनगिडीले तीन विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय २० रन बनाएको थियो ।
चेन्नईका फाफ डुप्लेसिस ९५ रनमा अविजित रहँदा रुतुराज गायकवाडले ६४ रन बनाए । जितसँगै चेन्नईले चार खेलबाट ६ अंक जोडेको छ ।
समान चार खेल खेलेको कोलकाताले एक खेल मात्र जितेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच खेल हुनेछ ।
प्रतिक्रिया