खेलकूद

नेपाल र नेदरल्याण्ड्स त्रिदेशीय क्रिकेटको फाइनलमा, नेदरल्याण्ड र मलेसियाबीचको खेल बराबरी

हिमालय टिभी
२०७८ वैशाख ८ गते १७:०९
नेपाल र नेदरल्याण्ड्स त्रिदेशीय क्रिकेटको फाइनलमा, नेदरल्याण्ड र मलेसियाबीचको खेल बराबरी

८ वैशाख २०७८ काठमाडौं । नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपालले उपाधिका लागि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा आज वर्षाले प्रभावित खेलमा नेदरल्याण्ड्स र मलेसियाले बराबरी खेलेपछि एक खेल अघि नै फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । बराबरीसँगै नेदरल्याण्ड्स र मलेसियाले एकएक बाँडे ।

४ खेलबाट ५ अंक जोडेको नेदरल्याण्ड्स र ३ खेलबाट ४ अंक जोडेको नेपालले उपाधि भिडन्त पक्का गर्दा १ अंक मात्र जोडेको मलेसिया बाहिरिएको छ । लीगको अन्तिम खेलमा नेपाल र मलेसियाबीच भोलि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

वर्षाले पटक पटक प्रभावित भएको आजको खेल अन्तिममा बराबरी भएको थियो । डक वर्थ लुइस नियमका आधारमा १३ ओभरमा १ सय २० रनको लक्ष्य पछ्याउँदै मलेसियाले ब्याटिङ गरे पनि छैटौं ओभर सकिँदा पुनः वर्षा भएपछि १० ओभरमा ९२ रन नयाँ लक्ष्य पायो । तर मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भयो ।

मलेसियाका लागि ओपनर सैद अजिज र अनवार अरुद्दीनले पहिलो विकेटका लागि ५७ रनको अर्धशतकीय साझेदारी गरे । सैद अजिजले ३० र अरुद्दीनले २३ रन बनाउँदा विरनदीप सिंह १४ रन जोडे ।

जित नजिक रहेको मलेसियालाई अन्तिम १ बलमा दुई रन चाहिएको अवस्थामा १ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका सेबस्टियान ब्राटले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्याण्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो ।

नेदरल्याण्ड्सले १० ओभर २ बलमा ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । करिब डेढ घण्टा पछि सुरु भएको खेल १३ ओभरमा झारिएको थियो ।

पहिलो ओभरमै ओपनर टोबियस भिसे शुन्यमा आउट हुँदा नेदरल्याण्ड्सले चौंथो ओभरमा २२ रन बनाउँदा ३ विकेट गुमाईसकेको थियो । तर बेन कुपर र कप्तान पिटर शिलारले चौंथो विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीको पाली सम्हाले । कुपरले नटआउट ५४ र शिलारले ३७ रन बनाए । बलिङतर्फ मलेसियाका मोहम्मद वाफिकले २ विकेट लिए ।

राउण्ड रोबिन लिगको अन्तिम खेलमा भोली नेपाल र मलेसियासँग खेल्नेछ । त्यस्तै नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल वैशाख ११ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्