समाज

बुटवलमा नेपालकै पहिलो र नमूना ढुवानी ग्राम निर्माण हुँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ८ गते ६:१३
बुटवलमा नेपालकै पहिलो र नमूना ढुवानी ग्राम निर्माण हुँदै (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ बुटवल । बुटवलमा नेपालकै पहिलो र नमूना ढुवानी ग्राम निर्माण भइरहेको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा नेपालकै नमूना आयोजनाका रुपमा हेवी लोडका सवारी साधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम बनाउन थालेको हो ।

बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर १२ ढवाहास्थित भैरहवा टोलमा तीन विगाहामा जग्गामा करिब ३० करोड लागतमा ढुवानी ग्राम बनिरहेको छ । सार्वजनिक निजी क्षेत्र साझेदारीको योजना अनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानी ग्रामको काम बहुवर्षीय योजनाका रूपमा अगाडि सारिएको थियो ।

शहरमा बढ्दो ट्राफिक चाप घटाउन, ब्यस्त र भिडभाडयुक्त बजार क्षेत्र र अव्यवस्थित ढंगले चलिरहेका ढुवानी व्यवसाय व्यवस्थित बनाउने, एकै ठाउँबाट हेवी लोडका गाडी अनलोड गराउने गरी अलग्गै ढुवानीग्राम बनिरहेको छ ।उपमहानगरपालिकाको प्रस्तावमा निजी क्षेत्रले सहकार्य गरेपछि काम तोकिएको समयमै पूरा हुने विश्वास गरिएको छ ।

हेवी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब व्यस्त सहरको ट्राफिक चाप कम हुने छ । बहुवर्षीय योजनाको अवधारणा अहिले साकार हुने अवस्थामा पुगेपछि उपमहानगर र ढुवानी व्यवसायी खुशी छन् ।

ढुवानी ग्राममा व्यवसायीको साढे १२ करोड रुपैयाँ लगानी छ । ढुवानीग्राममा पहुँच मार्ग निर्माण भइसकेको छ ।व्यवस्थित पर्खालसमेत बनेको छ । ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट २ किलोमिटरको दूरीमा छ ।

उपमहानगरपालिकाले त्यस क्षेत्रमा पुग्न पहुँच मार्ग, ढल तथा नाली बनाएको छ । यहाँ साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म बन्नेछन । बिओटी अर्थात बिल्ड, अपरेट, ट्रान्सफर मोडलमा ढुवानी ग्राम निर्माण भइरहेको छ ।

यहाँ ४९ वटा सेड निर्माण भइरहेका छन् । ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै सेड, स्टोर कक्ष, कार्यालय, बिद्युत, खानेपानी, स्नानागार, शौचालय, विश्रामकक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष बनाउने काम भैरहेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण भइरहेको ढुवानीग्रामलाई दिगो रुपमा सञ्चालनका लागि मापदण्ड समेत बनाएको छ । ढुवानी व्यवसायीसंग १५ वर्षे सम्झौता भएको छ ।

उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार रुपन्देही परिवहन प्रालिले १५ वर्षपछि उपमहानगरपालिकालाई ढुवानी ग्राम हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *