बुटवलको जितगढी किल्लामा उत्सव, अंग्रेजलाई पराजित गरेको स्मरण (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ बुटवल । विश्व विजेता अंग्रेजलाई पराजित गरेको बुटवलको जितगढी किल्लामा आज उत्सव मनाइएको छ । २ सय ६ वर्षअघि कर्णेल उजिरसिंह नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई हराएको थियो । त्यसैको स्मरणमा उत्सव मनाइएको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको गढीमा गोर्खाली फौजले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको थियो । कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई हराएको सम्झनामा हरेक वर्ष वैसाख ७ गते विजय उत्सवका रुपमा मनाइन्छ ।
विक्रम संवत १८७२ सालमा भएको अंग्रेजसँगको युद्धमा अन्य मोर्चामा भने नेपाल हारेको थियो । विजय उत्सव दिवसमा बुटवल उपमहानगरपालिकाले सम्पदा स्थलमा संक्षिप्त कार्यक्रम गरेको छ ।
जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रममा समेत यसलाई समावेश गरेको छ ।
जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा राख्ने गरी काम अघि बढेको छ । त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्न थालिएको छ ।
जितगढीलाई केन्द्रमा राखेर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरी बुटवल उपमहानगरले गुरुयोजना बनाएको छ ।
गुरुयोजना अनुसार २ बिघा भन्दा बढी जग्गामा संरचना निर्माण भइरहेका छन् । तत्कालीन मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय स्थल बनाउने लक्ष्य छ ।
प्रतिक्रिया