खेलकूद

त्रिदेशीय ट्वेन्टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो हार, नेदरल्याण्ड्स ३ विकेटले विजयी

हिमालय टिभी
२०७८ वैशाख ७ गते १७:१९
त्रिदेशीय ट्वेन्टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो हार, नेदरल्याण्ड्स ३ विकेटले विजयी

७ वैशाख २०७८ काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भयो ।

कीर्तिपुर मैदानमा नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले तीन बल अगावै सात विकेटको क्षतिमा भेटायो । बास डि लिडीले अविजित ८१ रन बनाउँदा नेदरल्याण्ड्सले जितको आधार खडा गरेको थियो । दुई विकेट गएपछि क्रिजमा आएका लिडीले ४२ बलमा ८१ रनको शानदार पारी खले । उनले सात चौका र पाँच छक्का प्रहार गरेका थिए । त्यसअघि बेन कुपरले ३५ बलमा १० चौका प्रहार गर्दै ५५ रन बनाए ।

मलेसियाविरुद्ध एक सय ३३ रनको योगदान गरेका म्याक्स ओ डोउड नौ रनमा आउट भएका थिए । अर्का ओपनर टोयिबास भिसी पनि १५ रनमा आउट भएका थिए । तर त्यसपछि कुपर र लिडीले तेस्रो विकेटका लागि ६८ रनको पार्टनरसिप गरेका थिए ।

कप्तान पिटर सिलारले पनि १५ बलमा ३१ रन बनाए ।
आजको खेलमा नेपालको फिल्डिङ केही कमजोर देखिएको थियो । बलिङतर्फ सन्दिप लामिछानेले चार विकेट लिँदा कुशल मल्ल, अविनाष बोहरा र करण केसीको नाममा पनि एक एक विकेट रह्यो ।

कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ६ विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो । कुशल भुर्तेलले लगातार तेस्रो म्याचमा पनि अर्धशतक बनाएका छन् । उनले ४६ बलमा आठ चौका र एक छक्का सहयोगमा ६२ रन बनाए । डेब्यू सिरिजमा लगातार अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।

यसअघि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेलमा उनले ६२ रन बनाएका थिए भने मलेसियाविरुद्ध ६१ रनको इनिङ्स खेलेका थिए । आज पनि उनले ६२ रन जोडे ।

कुशललाई साथ दिएर ओपनिङमा आएका आशिफ शेख आजको खेलमा शुन्यमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । त्यसपछि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरीले ३० बलमा पाँच छक्का र तीन चौका प्रहार गर्दै ६० रन बनाए ।

कुशल मल्लले पनि सात बलमा तीन छक्कासहित १८ रन जोडे । करण केसी एक रन बनाएर आउट हुँदा सोमपाल कामी २१ र विनोद भण्डारी ७ रनमा नटआउट रहे ।

बलिङतर्फ भिभियन किंगमा र पिटर सिलारले दुई दुई विकेट लिए भने बास डि लिडी र आर्यन दत्तले एक एक विकेट हात पारे ।

यो नतिजापछि नेपाल र नेदरल्याण्ड्स दुबैको तीन खेलबाट चार अंक बनाएको छ । अंक तालिकामा मलेसिया दुई खेलबाट अंकविहीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्