खेलकूद

त्रिदेशीय क्रिकेटमा नेपालको शानदार जित, मलेसिया ९ विकेटले पराजित

हिमालय टिभी
२०७८ वैशाख ६ गते १६:४४
त्रिदेशीय क्रिकेटमा नेपालको शानदार जित, मलेसिया ९ विकेटले पराजित

६ वैशाख २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा नेपालले लगातार दोश्रो खेल जितेको छ ।

कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाएपछि नेपालले आज मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो । आजको जितसँगै नेपालले मलेसियासँग पोहोर थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टीमा व्यहोरेको हारको बदला लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको १ सय १० रनको लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले १ सय २ रनको पार्टनरसिप गरेका थिए ।

कुशलले नट आउट ६१ रन बनाए । आसिफ भने ४२ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी ६ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले १६ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । शार्भिन मुनिएन्डीले २० रन जोडे भने शाफिक शारिफले १५ रन बनाए ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाले राम्रो सुरुवात गरेपनि नेपाली बलरले नियमित विकेट लिएपछि ठूलो स्कोर बन्न सकेन । नेपालको लागि पहिलो विकेट लिएका करण केसीले कुल ३ विकेट लिए ।

सन्दीप लामिछाने २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नाममा एकएक विकेट रह्यो ।

नेपालले भोलि सवा १ बजे नेदरलयाण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्