आईपीएलमा मुम्बईको लगातार दोस्रो जित, हैदराबाद१३ रनले पराजित
![आईपीएलमा मुम्बईको लगातार दोस्रो जित, हैदराबाद१३ रनले पराजित](https://www.himalayatv.com/wp-content/uploads/2021/04/ipl-indian.jpg)
५ वैशाख २०७८ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्सले लगातार दोस्रो जित निकालेको छ ।
आईपीएल अन्तर्गत गएराति आफ्नो तेस्रो खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो । १ सय ५१ रनको मध्यम लक्ष्य पछ्याएको हैदराबाद खेल सकिन दुई बल अगावै १ सय ३७ रनमा अलआउट भयो ।
हैदराबादका लागि जोन्नी बेरिष्टोले ४३, कप्तान डेविड वार्नरले ३६ तथा विजय शंकरले २८ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट र राहुल चहरले समान तीन(तीन विकेट लिए । यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
मुम्बईका तर्फबाट क्विन्टन डि ककले ४० रन बनाए । त्यस्तै केरोन पोलार्ड ३५ रनमा अविजित रहँदा कप्तान रोहित शर्माले ३२ रन जोडे ।
बलिङ्तर्फ हैदराबादका मुजिब उर रहमान र विजय शंकरले समान दुई(दुई विकेट हात पारे । जितसँगै मुम्बई तीन खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
मुम्बई पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरसँग दुई विकेटले पराजित हुँदा उसले दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले हराएको थियो ।
प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।
प्रतिक्रिया