नेपालगञ्जको भेरी अस्पतालमा बेडको अभाव, गर्भवतीसमेत उपचारबाट बञ्चित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते ६:२७
नेपालगञ्जको भेरी अस्पतालमा बेडको अभाव, गर्भवतीसमेत उपचारबाट बञ्चित (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ बाँके । बाँकेमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । हिजो एकैदिन जिल्लामा १ सय २४ जना संक्रमित थपिएका छन । नेपालगञ्जको भेरी अस्पतालमा बेड भरिएपछि गर्भवती महिला समेत उपचार नपाएर छट्पटाउनुपर्ने अवस्था देखिएको छ । अवस्था नाजुक बने पनि व्यवस्थापनका लागि सरकारी निकायले कुनै पहल गरेका छैनन् ।

३३ हप्ताकी गर्भवती महिला, पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसैले आफन्तले भेरी अस्पतालमा ल्याए । तर अस्पतालमा बेड छैन । अस्पतालका कर्मचारी बेड मिलाउँदै छौँ नआँत्तिनु भनेर गर्भवतीलाई सान्त्वना दिँदै छन् ।

बाँकेमा पछिल्लो एक हप्तामा ३ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । भेरी अस्पतालमा संक्रमितको उपचारका लागि बेड अभाव छ । कोरोना संक्रमित बिरामीका लागि छुट्टयाइएको सबै ७२ बेड भरिएको छ । त्यसैले गर्भवतिले समेत बेड पाएका छैनन् ।

यी गर्भवती महिलाले ४–५ घन्टासम्म अस्पतालको बरन्डामा छटपटाएपछि बल्लबल्ल बेड मिल्यो । नर्स र चिकित्सकले ४–५ घन्टाको निरन्तर प्रयासपछि बेड व्यवस्थापन गरेका छन् ।

बेड अभाव भएका कारण कोरोना वार्डमा पुगेका संक्रमित बिरामीलाई स्वास्थ्यकर्मीले सम्झाई बुझाई गरेर होम आइसोलेशनमा बस्न अनुरोध गर्दै फिर्ता पठाउने गरेका छन् ।

भेरी अस्पतालका भर्ना भएका ७२ जना मध्ये ४० जना बिरामी सिकिस्त छन् । ७ जनालाई भेन्टिलेटर र ३ जनालाई सिप्याकमा राखिएको छ । अन्य बिरामीलाई अक्सिजन दिएर राखिएको छ । पछिल्ला ४ दिनमा संक्रमितको संख्या निक्कै बढेको छ । ४ दिन पहिले अस्पतालमा जम्मा २२ जना बिरामी थिए ।

अहिले बेड र भेन्टिलेटरका लागि दैनिक ६–७ जना बिरामी कोरोना वार्डसम्मै पुग्ने गरेका छन । कोरोना वार्डका लागि छुटटाइएको १४ बेड आइसीयु पुरै भरिए पछि पुरानो हलमा थप आइसीयु संचालन गर्नु पर्ने अबस्था छ । तर त्यसका लागि जनशक्ति अभाव छ ।

बाँकेमा शंकास्पदको पीसीआर परीक्षण गर्दा ५० प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको छ । यसले पनि स्थिति कति भयावह बन्दै गएको छ भन्ने देखिन्छ । तर संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारीस्तरबाट भने अहिलेसम्म कुनै पहल भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *