समाज

सरकारका लागि बिरानो छ मोहना नदी पारीको यो नेपाली गाउँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २ गते १४:२६
सरकारका लागि बिरानो छ मोहना नदी पारीको यो नेपाली गाउँ (भिडियो रिपोर्टसहित)

वैशाख २०७८ कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ को मोहना नदी पारी एक गाउँ छ हौसलपुर । नदीपारी २८ घरधुरी रहेको हौसलपुरका बासिन्दा नेपाली हुन् । तर उनीहरु पूर्ण रुपमा भारतमै निर्भर छन् । नेपाली प्रशासनका लागि यो गाउँ गुमनाम जस्तै छ ।

भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको छ, कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ को हौसलपुर गाउँ । मोहनापारिको नेपालको करिब ४०(५० हेक्टर क्षेत्रफलमा रहेको यो कुनाको बस्ती वर्षौंदेखि गुमनामजस्तै छ ।

यहाँ बस्ने २८ घरपरिवार थारुको नेपाल सम्बन्ध सरकारी कामकाजसँग मात्रै जोडिएको छ । अझ भन्नु पर्दा, यो गाउँका बासिन्दा नेपाली नागरिकता बनाउनका लागि मात्रै जिल्ला सदरमुकाम धनगढी पुग्छन् । भारतीय बस्तीसँग ऐँचोपैँचोको सम्बन्ध जोडिएको छ । भारतको बेलापुरसुवा बस्तीसँग यो गाउँको साँध खेतको आली मात्रै छ ।

हौसलपुरमा चलाउने सवारी साधनदेखि खेत जोत्ने ट्याक्टरसम्म भारतीय नम्बर प्लेटका छन् । शिक्षा, स्वास्थ्यको सहज पहुँच मात्रै होइन उब्जेको अनाज बिक्री र दैनिक उपभोग्य वस्तुको किनमेल पनि भारतीय बजारमै हुन्छ ।

सबै कामका लागि भारतमै निर्भर रहेका उनीहरु नेपाल सरकारको उपस्थितिसँगै नदिमा पुल र पक्की सडक बनिदिए नेपालप्रति माया बढ्ने बताउँछन्

विगतमा सरकारी निकायको कुनै उपस्थिति नभएको हौसलपुरमा स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि विकासका केही काम शुरु भएका छन् ।

केही महिनाअघि मात्रै हौसलपुर गाउँमा बत्ती बलेको छ । स्थानीय जनप्रतिनिधिले पनि स्थानीय तहबाट उपलब्ध हुने सेवामा नागरिकको पहुँच बढाइरहेको दावी गरिरहेका छन् ।

बषौँअघि कमैया रहेका थारु समुदायको बसोबासो रहेको यो गाउँका बासिन्दाले स्थानीय जनप्रतिनिधि आइसकेपछि नेपाली भएको अनुभुति गरेका छन् । तर पनि पनि गाउँमा विकासको कामले गति लिन सकेको छैन । स्थानीय बासिन्दाले जनप्रतिनिधिसँग विकासको साथसाथै व्यक्तित्व विकास र क्षमता अभिबृद्धि हुने कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *