समाज

बाँके-बर्दियामा बाघको आक्रमण बढ्दै, १८ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २ गते ६:०९
बाँके-बर्दियामा बाघको आक्रमण बढ्दै, १८ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ नेपालगञ्ज । बाँके र बर्दिया राष्ट्रिय निकुन्जको आसपासका क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ । पछिल्ला २ वर्षको अवधिमा बाघको आक्रमणबाट बर्दियामा १६ र बाँकेमा २ गरी १८ जनाको मृत्यु भइसकेको छ । बाघको आक्रमणसँगै निकुन्ज नजिक बस्ने बासिन्दामा त्रास बढेको छ ।

२०७७ चैत १६ गते बर्दियाको गेरुवा नगरपालिकाको जनकनगरमा पाटेबाघको आक्रमणबाट चुलाराम थारु घाइते हुनुभयो । बिहान ५ बजेतिर घर नजिकैको खेतमा सिचाई गर्न गएका ३५ वर्षीय चुलारामलाई खेत नजिकैको झाडीमा लुकेर बसेको बाघले एक्कासी आक्रमण गर्‍यो।

आक्रमणमा परेपछि चिच्चाएका चुलारामलाई अर्का स्थानीयले बचाए । पछिल्ला दिनमा बर्दिया र बाँके निकुन्जको नजिकका बस्तीमा पाटे बाघको आक्रमण बढ्दै गएको छ । यसले स्थानीय बासिन्दा त्रसित भएका छन् । बाघको आक्रमणमा परेकाका आफन्तले सरकारसँग सुरक्षाको माग गरेका छन् ।

घाँस, दाउरा काट्न, साग टिप्न निकुन्ज क्षेत्रको जंगलमा गएका बेला मानिस बाघको आक्रमणमा पर्ने गरेका छन् । आक्रमणमा परेर अहिलेसम्म मृत्यु भएका १८ जना मध्ये ११ जना महिला छन ।

बर्दियामा खाता करिडोर क्षेत्र, गेरुवा नदी किनाराको जंगल क्षेत्रका साथै कर्णाली चिसापानी सडक खन्डमा बाघको आक्रमण धेरै भएका छन् । बाँके निकुन्ज क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिकाको ढकेरी जंगल क्षेत्रमा पनि बाघले आक्रमण गर्ने गरेको छ ।

निकुन्जको कोर क्षेत्रमा बयस्क बाघसँग लडाइमा हारेर भागेका, शिकार गर्न नसक्ने घाइते र बुढो बाघले घर पालुवा जनावर र मानिसमाथि आक्रमण गरेको पाइएको छ । त्यसबाहेक राजमार्ग क्षेत्रमा भएको जम्का भेटमा पनि बाघले मानिसलाई आक्रमण गरेको हुन सक्ने विज्ञको बुझाइ छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन निकुन्ज क्षेत्र आसपासका बासिन्दाको आय आर्जन वृद्धि गर्ने किसिमका गतिविधि बढाएर वन जंगलमाथिको निर्भरतालाई घटाउदै जानुपर्ने बिज्ञको सुझाव छ । नत्र बाघको आक्रमण अझै बढ्ने खतरा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *