खेलकूद

यो वर्ष खेलका हिसावले कस्तो रह्‍यो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३१ गते २०:५८
यो वर्ष खेलका हिसावले कस्तो रह्‍यो ? (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं । कोरोना महामारीका कारण यो वर्ष खेलकूद क्षेत्र पनि नराम्ररी प्रभावित भयो । कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको मारका कारण खेलकूद अझै तंग्रिन सकेको छैन । यो वर्ष खेलका हिसावले कस्तो रह्‍यो त ?

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरे पछि खेलकूद गतिविधि ठप्प बन्यो । लकडाउनको सुरुवातसम्म चलेको खेल हो फूटबल । र लकडाउन खुकुलो भएसँगै सबैभन्दा अगाडी शुरु भएको खेल पनि यही नै हो । वर्ष दिनजस्तै मैदान बाहिर रहेको राष्ट्रिय फूटबल टोलीले कार्तिकमा बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण फूटबल खेल्यो ।

नतिजाका हिसाबले उत्साहजनक नरहेपनि यसले नेपालको खेल क्षेत्रलाई चलायनमान बनाउन मद्दत गर्यो । यद्यपि शीर्ष डिभिजनको लीग यो वर्ष हुन सकेन भने डी र सी डिभिजन लीगका साथै मोफसलका गोल्डकप प्रतियोगिता सम्पन्न भएका छन् ।

एन्फाले पहिलो पटक महिला लीगलाई व्यवस्थित पार्ने कोशिस गर्यो । हप्ता दश दिन हुने गरेको महिला लिग एन्फाले यो वर्ष एक महिनासम्म गरेको छ ।

कोरोनाका कारण पटक पटक विश्वकप छनोटको खेल सरेपछि एन्फाले नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्ष मुनिको टोली सम्मिलित थ्री नेशन्स कप आयोजना गर्यो । प्रतियोगितामा नेपालले फाइनलमा बंगलादेशलाई हराउँदै उपाधि जित्यो । नेपाली सिनियर टोलीले घरेलु मैदानमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै सर्वाधिक ७३ क्याप जितेका पूर्व कप्तान विराज महर्जनले अन्तराष्ट्रिय फूटबलबाट बिदा लिए ।

दुई वर्षअघिनै घोषणा भएको फ्रेन्चाइज फूटबल प्रतियोगिताले यो वर्ष मुर्तरुप पाएको छ । अक्सनबाट ७ टोलीले खेलाडी अनुबन्ध गर्दै तयारी गरिरहेका छन् । नयाँ वर्ष २०७८ को पहिलो महिनामै यो प्रतियोगिता हुँदैछ । यसै वर्ष एन्फाले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गर्यो ।

फूटबलसँगै यो वर्ष सक्रिय अर्को खेल हो क्रिकेट । क्यानले पछिल्लो तीन महिनाको अन्तरमा मात्र महिला र पुरुष २(२ प्रतियोगिता आयोजना गर्यो ।

दाङको लमहीमा प्रधानमन्त्री कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेट गरेको क्यानले त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री कप पुरुष एकदिवसिय राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्यो । त्यस्तै, काठमाडौं मेयर्स कप र ललितपुर मेयर्स कप पनि आयोजना भए । क्यानले आगामी वैशाखमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी सिरिज आयोजना गर्दैछ ।

ओडिआई मान्यता कायम राख्ने लक्ष्य लिएको क्यानले यसै वर्ष श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका डेभ वाटमोरलाई मुख्य प्रशिक्षकका रुपमा ल्यायो । राष्ट्रिय टोलीको व्यस्त तालिकासँगै पाइपलाइनमा घरेलु प्रतियोगिता रहेपनि उमेर समुहका प्रतियोगिता भने यो वर्ष हुन सकेन् ।

वर्ष २०७७ मा भलिबलपनि चर्चामा रह्यो । कोरोना पछि उपत्यका सहित देशैभरी नै भलिवल प्रतियोगिता भएपनि स्तरीयताको अभाव देखिएको छ । यो वर्ष यी तीनवाहेकका खेलकुद गतिविधि भने नगन्य जस्तै देखियो । यद्यपी , कराते, बक्सिङ, एथ्लेटिक्स, चेस लगायतका केही प्रतियोगिताले खेल क्षेत्रलाई चलायमान बनाउन कोशिस गरे ।

खेल जगतमा यो वर्षको महत्वपूर्ण उपलब्धीका रुपमा राष्ट्रिय खेलकुद विकास ऐनलाई लिन सकिन्छ । जसमा राखेप सदस्य सचिवको अधिकार, राखेप बोर्ड, पदाधिकारीको भूमिका, खेल संघ स्थापना, म्याच फिक्सिङ सम्बन्धी कानूनी व्यवस्था जस्ता विषय यसमा समेटिएको छ ।

तर राष्ट्रिय राजनीतिको प्रभावबाट भने खेल क्षेत्र यो वर्ष पनि मुक्त भएन । तत्कालिन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पदबाट हट्नु पर्‍यो । दावा लामा तामाङलाई मन्त्रालयको जिम्मा दिइयो ।

संक्रमण जोखिमकै कारण खेलकूद क्षेत्रकै प्रतिष्ठित एनएसजेएफ स्पोर्टस अवार्ड सेमि भर्चुअल माध्यमबाट भयो । वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडी घोषित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्