पोखरामा बनाउने भनिएको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अन्यौलमा (भिडियो रिपोर्टसहित)
३० चैत २०७७ पोखरा । गण्डकी प्रदेश सरकारको पोखरामा बनाउने भनिएको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अन्यौलमा छ । सरकार गठन भएलगत्तै करिव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको वर्ष दिन भए पनि हालसम्म टेण्डर प्रकृया कहिले अघि बढ्ने भन्ने नै एकिन भएको छैन ।
गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना केवल योजनामा मात्रै सीमित छ । रंगशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको भए पनि अहिले पनि टेण्डर प्रक्रिया शुरु नहुँदा योजना अलपत्र परेको हो ।
रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा संघ सरकारबाट प्राप्त भइसकेको छ । १८ हजार दर्शक क्षमताको रंगशालामा ट्वेन्टी–ट्वेन्टी, एक दिवसीय र टेस्ट म्याच खेल्न मिल्ने सात वटा पीच तयार पारिने डीपीआरमा उल्लेख छ ।
मैदानमा सात वटा पिच, भिभिआइपी, भिआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायतका संरचना बन्ने छ ।
यो क्रिक्रेट रंगशाला पोखराको मुख्य बजार देखि १० किलोमीटरको दुरीमा पर्दछ । पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने मैदानको अभाव छ ।
प्रदेश सरकारको यो रंगशाला निर्माण भए पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिए पनि हालसम्म काम शुरु नहुँदा योजना सम्पन्न हुनेमा नै शंका छ । तर प्रदेश सरकारले यस वर्ष क्रिकेट रंगशालाका लागि दुई करोड रकम समेत विनियोजन गरेका कारण केही समयमा नै टेन्डर गर्ने तयारी छ ।
आर्थिक वर्ष सकिन तिन महिना मात्रै बाँकी रहँदा सरकारले शहरी विकास तथा भवन शाखामार्फत रंगशाला बनाउन प्रदेश सरकारले अर्थ मन्त्रालयसँग सहमतिका लागि पहल गरिरहको छ ।
रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दै आएको र त्यसको संरक्षणका लागि छुट्टै डिपिआर आवश्यक पर्ने देखिएको छ । नदी कटान क्षेत्रको संरक्षण कसरी गर्ने भन्ने निर्क्योल गरेर रंगशाला निर्माण कार्य अगाडि बढाउनु आवश्यक छ ।
प्रतिक्रिया