समाज

सप्तकोशीमा जेटबोट : स्थानीय पहिले थिए खुशी अहिले किन भए दुःखी ? भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २९ गते १८:४७
सप्तकोशीमा जेटबोट : स्थानीय पहिले थिए खुशी अहिले किन भए दुःखी ? भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ धनकुटा । केही वर्षअघिबाट सप्तकोशी नदीमा जेटबोट सञ्चालनमा छ । जेटबोट संचालनसँगै नदीको तिरैतिर जोखिम मोलेर हिड्नुपर्ने बाध्यता हट्दा गढतिरका वासिन्दा खुसी देखिन्थे । तर अहिले बोटले आफूहरुलाई प्राथमिकता नदिएको स्थानीयले गुनासो गर्न थालेका छन् ।

सुनसरीको चतरादेखि त्रिवेणी हुँदै भोजपुर र धनकुटाको सीमा क्षेत्र सिम्लेसम्म सप्तकोशी नदीमा केही वर्षदेखि जेटबोट चलिरहेको छ । दुधकोशी, अरुण, तमोर नदीको संगमस्थल त्रिवेणीका बसिन्दाले भने जेटबोटले आवातजावतमा प्राथमिकता नदिएको दुखेसो पोख्न थालेका छन् ।

घुम्न आउने पर्यटकलाई मात्रै प्राथमिकता दिँदा आफूहरुले सहज ढंगले यात्रा गर्न नपाएको उनीहरुको गुनासो छ । चतारादेखि सिम्ले बीचमा धेरै बस्ती छन् । तर बोटले बीचका बस्तीमा स्थानीय बासिन्दा र पर्यटकलाई उत्रिनै दिदैनन् ।

धनकुटाको शहीदभूमिको अरुण र तमोर जोडिएको क्षेत्र, उदयपुरको सप्तकोशी र दुधकोशीसंग जोडिएको तथा भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दालाई जेटबोटकै भर पर्नुपर्ने बाध्यता छ ।

उनीहरुको नजिकको बजार चतरा हो । पैदल हिँड्दा एकोहोरो मात्र करिब तीनदेखि चार घण्टा लाग्छ । तर जेटबोटबाट चतरादेखि त्रिवेणीसम्म पुग्न बढीमा १६ मिनेट लाग्छ । आन्तरिक पर्यटक घुम्न आएमा स्थानीयले मौका पाउँदैनन । लगिहाले पनि धेरै ढिलो गरेर मात्रै पालो पाउँछन् ।

उनीहरुको गुनासो भाडामा पनि छ । चतरादेखि त्रिवेणीसम्मको भाडा ५ सय रुपैयाँ छ ।तर केही वर्ष अघि अरुलाई भन्दा स्थानीय बासिन्दालाई २५ प्रतिशत कम भाडा लिने सहमति भएको थियो । तर त्यो सहमति केही समयपछि नै तोडियो ।

भाडा लगायत विभिन्न कुरामा सहुलियत पाउनुपर्ने स्थानीय बासिन्दाको माग छ । बोटको यात्रा स्थानीयका लागि छोटो र सहज हुने भए पनि भाडाकै कारण अन्य विकल्प खोज्नुपर्ने अवस्था छ ।

उपलब्ध सुविधाको सर्वसुलभ र सहज उपभोग गर्न स्थानीय बासिन्दाले पाउनुपर्छ । र, त्यसमा उनीहरु प्राथमिकतमा पर्नुपर्छ । त्यसैले सरोकारवालाले यसमा ध्यान दिनै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *