पार्टी विवादमा निर्वाचन आयोगले निर्णय नदिएकोमा एमाले नेता नेपालको असन्तुष्टि (भिडियो रिपोर्टसहित)
२९ चैत २०७७ पर्सा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
वीरगञ्जमा आज बिहान भएको पत्रकार सम्मेलनमा नेता नेपालले निर्वाचन आयोग जस्तो संवैधानिक अंगले निर्णय नदिनु बिडम्बनापूर्ण भएको बताउनुभयो ।
एमाले पुनर्जीवित भएपछि फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गर्नु भएको थियो ।
त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।तर त्यसबारे आयोगले निर्णय गरेको छैन । नेता नेपालले अहिले पनि विधिसम्मत ढंगले छलफल गरेर निकास खोज्न सकिने बताउनुभयो ।
वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीले अन्याय गरेकाहरुलाई आफूले न्याय दिने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न २०७५ जेठ २ मा फर्कनुको विकल्प नभएको बताउनुभयो ।
प्रतिक्रिया