राजनीति

गहिरो लभ परेका बेला अदालतले जबर्जस्ती डिभोर्स गराइदियोस: प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते २०:४३
गहिरो लभ परेका बेला अदालतले जबर्जस्ती डिभोर्स गराइदियोस: प्रचण्ड (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विगतका कमजोरीका कारण अहिले समस्यामा परेको गुनासो गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रचण्डले आफ्ना के के कमजोरी भए भनेर कार्यकर्तालाई सुनाउनुभयो । यस्तै उहाँले एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसँग गहिरो माया बसेको भन्दै अदालतले त्यसलाई तोड्न खोजेकोमा दुखेसो पनि पोख्नुभयो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि एमालेका असन्तुष्ट नेतासँग प्रचण्डको सम्बन्ध उस्तै देखिन्छ । यसलाई उहाँले लभ अर्थात माया पिरतीको संज्ञा दिइरहनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले माधवकुमार नेपाल लगायतका एमाले नेतासँगको आफ्नो माया पिरतीबारे खुलस्त कुरा गर्नुभयो । सर्वोच्च अदालतले जवर्जस्ती यो माया टुटाउन खोजेको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनुभयो ।

कार्यक्रममा प्रचण्डले विगतमा आफूले कहाँ कहाँ गल्ती गरें भनेर पनि सुनाउनुभयो । पार्टी एकता गरेर आफूले गल्ति नगरेको तर समकक्षी केपी शर्मा ओलीले भनेका सबै कुरा मान्दा अहिलेको अवस्था आएको उहाँको निष्कर्ष छ ।

सशस्त्र युद्ध गर्दाका धेरै सहकर्मीले अहिले प्रचण्डको साथ छाडेका छन् । युद्धमा साथ दिनेको बेवास्ता गरेको पनि उहाँमाथि आरोप लागिरहेको छ । उहाँले त्यसलाई स्वीकार मात्र गर्नुभएन एकतापछि आफूमा अलिकति घमण्ड पलाएको पनि बताउनुभयो । नेकपा बनेपछि आफ्नाहरुको बेवास्ता गरेर अरुसँग लड्न हिंडदा अहिले दुःख पाएको प्रचण्डको विष्लेषण छ ।

सम्बोधनका क्रममा प्रचण्डले आफूले धेरै गल्ती गर्दा अहिलेको अवस्था आएको बताए पनि हार भने नमानेको बताउनुभयो । अब फेरि नयाँ शिराबाट पार्टी र संगठन अघि बढाउने भन्दै उहाँले कार्यकर्तालाई आस्वस्त बनाउने प्रयास गर्नुभयो ।

विगतका गल्ती कमजोरी नदोहोर्‍याउने संकल्प गर्दै उहाँले फेरि पनि कम्युनिष्ट आन्दोलन एक बनाउन लाग्ने पनि बताउनुभयो । तर त्यस्तो एकता अब पार्टीलाई बलियो बनाएपछि मात्रै सम्भव हुने उहाँको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्