आर्थिक

सौराहामा विदेशी पर्यटक शून्य, आन्तरिकको भर, कोरोना संक्रमण बढेपछि व्यवसायी चिन्तित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते १६:५५
सौराहामा विदेशी पर्यटक शून्य, आन्तरिकको भर, कोरोना संक्रमण बढेपछि व्यवसायी चिन्तित (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र चितवनको सौराहामा विदेशी पर्यटकको उपस्थिति शुन्य प्रायः छ । कोरोनाकालमा बन्द रहेका सौरहाका होटल जनजीवन सामान्य बन्न थालेपछि पुन खुले । तर उनीहरुले विदेशी पर्यटक पाएनन् ।

त्यसैले आन्तरिक पर्यटकलाई तान्न उनीहरुले विभिन्न प्रयास गरे । जस अनुसार सौरहामा आन्तरिक पर्यटक बढ्दै गएका छन् । र व्यवसायीले आन्तरिक पर्यटकबाट खर्च धानिरहेका छन् ।

लकडाउन र निषेधाज्ञा हटेपछि अरु व्यापार व्यवसाय सामान्य अवस्थामा फर्केको छ । तर पर्यटन व्यवसायले भने अझै गति लिएको छैन । विदेशी पर्यटक खासै आएका छैनन् ।

त्यसको असर चितवनको पर्यटकीय क्षेत्र सौरहामा पनि देखिएको छ । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने सौराहाका होटल तथा रेष्टुरेन्ट आधा क्षमतामा सञ्चालन भइरहेका छन् । अहिले आन्तरिक पर्यटकबाट खर्च धान्नुपर्ने अवस्था छ ।

असोजदेखि चितवनमा पर्यटन व्यवसाय सञ्चालनमा आए पनि अपेक्षाअनुसार विदेशी पर्यटक नआएपछि व्यवसायीले आन्तरिक पर्यटनलाई जोड दिए । उनीहरुले देशका विभिन्न क्षेत्र पुगेर ‘घुमौं सौराहा अभियान’ सञ्चालन गरे । केही कर्पोरेट हाउस, गैरसरकारी संस्था र सरकारी निकायले सौराहामा तालिम, गोष्ठी शुरु गरे । जसका कारण आन्तरिक पर्यटकको आगमन भने बढेको छ ।

सौरहाको पर्यटन क्षेत्रमा केही सुधार हुनै लाग्दा देशभर फेरि कोरोना संक्रमणको दर बढेको छ । जसले गर्दा अब फेरि के हुने हो भन्ने चिन्ता व्यवसायीमा छ । एक वर्षको अवधीमा सौराहाको पर्यटन क्षेत्रमा करोडौंको क्षति भोगेका व्यवसायीले राज्यले दिने भनेको सुविधा कागजी जटिलताका कारण लिन नसकेको गुनासो गरेका छन् । राहत प्याकेजमा साहुलियत दरको कर्जा सहज ढङ्गबाट उपलव्ध गराउनुपर्ने व्यवसायीको माग छ ।

कोरोना संक्रमणका कारण थलिएको सौराहको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि निजी र सरकारी निकायबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने आवस्यकता छ । यसका साथै व्यवसायीलाई उपलव्ध गराउने भनिएको आर्थिक प्याकेज व्यवहारमा लागू गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *