भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, महाराष्ट्रमा आजदेखि कडा लकडाउन
२३ चैत २०७७ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमणको दर बढेसँगै एक महिनाका लागि प्रतिबन्धात्मक नियम लागू गरिएको छ ।
कोरोना सङ्क्रमणको दर रोकथामका लागि महाराष्ट्र सरकारले आजदेखि लागू हुनेगरी प्रतिबन्धात्मक व्यवस्था लागु गरिने बताएको छ । कोरोना रोकथामका लागि भन्दै आजदेखि धारा १ सय ४४ लागू हुने बीबीसीले जनाएको छ ।
महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले धारा १ सय ४४ लागू गर्नुभएको घोषणा गर्नुभएको हो । महाराष्ट्रमा आज बिहान ७ बजेदेखि शुक्रबर राति ८ बजेसम्म कडा लकडाउन रहने पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले यस अवधिमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने र लकडाउनको अवधिबाहेक पनि राति ८ बजेदेखि बिहान ७ बजेसम्म घरभन्दा बाहिर निस्कन नपाइने बताउनुभयो ।
उहाँले आजदेखि लागू हुने लकडाउन अप्रिल ३० सम्म जारी रहने भन्दै यस सयमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र आवश्यक सवारीसाधनलाई मात्रै सञ्चालनका लागि अनुमति दिएको उल्लेख गर्नुभयो । भारत कोरोना महामारीका कारण विश्वकै तेस्रो प्रभावित मुलुक हो ।
पछिल्लो समय भारतमा दैनिक ८० देखि ९० हजारका दरले कोरोना सङ्क्रमित थपिन थालेका छन् । कोरोना महामारीका कारण भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो । हिजो मात्रै महाराष्ट्रमा ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया