आर्थिक
शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च २६ सय ५७ विन्दुमा
२०७७ चैत २२ गते १६:५१
२२ चैत २०७७ काठमाडौं । कारोवार भएकामा अधिकांश शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेप्से आज २५ दशमलव ७१ अंकले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको छ । नेपालको शेयर बजार इतिहासमा यो अहिलेसम्मकै उच्च विन्दु हो ।
यसअघि गत फागुन ९ गते २६ सय ४० विन्दुमा पुगेको नेप्से त्यसपछि घटेको थियो । तर फेरि बढेर आज त्यो विन्दुभन्दा पनि माथि पुगेको हो ।
कारोबार भएकामा आज व्यापार, होटल तथा पर्यटन, उत्पादन, लगानी र म्युचुअल फन्ड उपसमूह घटे पनि अरु सबै समूह बढेका कारण समग्रमा नेप्से पनि बढेको हो ।
नेप्सेसँगै आज कारोबार रकम पनि १ अर्ब ७१ करोड रुपैयाँ बढेको छ । दिन भरीमा ९ अर्ब रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएको छ ।
प्रतिक्रिया