खेलकूद

कुवेतको लमुताइरी नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

हिमालय टिभी
२०७७ चैत २२ गते १४:४२
कुवेतको लमुताइरी नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

२२ चैत २०७७ काठमाडौं । कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

थ्री नेशन्स कप अगाडि नै नेपाल आएको भए पनि अखिल नेपाल फूटबल संघ (एन्फा)ले आज पत्रकार सम्मेलन गरी मुख्य प्रशिक्षकका रुपमा उनलाई सार्वजनिक गरेको हो ।

यसअघि स्विडेनका योहान कालिनले राजिनामा दिएपछि कार्यबाहक प्रशिक्षक बालगोपाल महर्जनले टोलीलाई प्रशिक्षण दिइरहेका थिए । विश्वकप छनोट खेल्ने टोलीको मुख्य प्रशिक्षक बन्नका लागि प्रो–लाइसेन्स हुनुपर्ने फिफाको नियम अनुसार अब्दुल्लाहलाई प्रशिक्षकको जिम्मेवारी दिईएको हो ।

आफ्नो प्रशिक्षण करिअरमा पहिलो पटक सिनियर टोलीको प्रशिक्षक सम्हाल्न लागेका अलमुताइरीले थ्री नेशन्स कपमा नेपालको खेल हेरेका थिए । उनले टोलीमा सम्भावना बोकेका खेलाडी रहेकोले अहिले भन्दा राम्रो नतिजा दिन सक्ने बताए ।

एन्फाको टेक्निकल कमिटीको सिफारिसमा टोलीको जिम्मेवारी पाएका उनी एक वर्ष नेपालमा रहने छन् । उनले आगामी जुनमा हुने विश्वकप छनोट अन्तर्गतका ३ खेल र सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीलाई प्रशिक्षण गराउनेछन् ।

आउँदो साफमा राम्रो नतिजा निकाल्दै नेपाली जनतालाई गर्व गर्ने मौका दिने बताए । दक्षिण एसियाली क्षेत्रमा सबै राष्ट्र एउटै स्तरका रहेको भन्दै उपाधि जित्नको लक्ष्य राखेको बताए ।

खेल जीवनमा गोलरक्षकका रुपमा रहेका ३९ वर्षीय अलमुताइरीले सन् २०११ देखी प्रशिक्षकको जिम्मेवारीमा रहँदै विभिन्न क्लब र उमेर समुहको टोलीलाई प्रशिक्षण गराए । एएफसीका कोचिङ इन्स्ट्रक्टर समेत रहेका उनले सुरुवाती समयमा कुवेतकै एक क्लबमा प्रशिक्षण गराए।

त्यसयता साउदी अरेबियाको क्लबको प्रशिक्षण सम्हालेका उनले किर्गिस्तानको युवा टोली र पछिल्लो पटक कतारको अल सहानीया फुटबल क्लबमा प्रशिक्षकको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्