समाज

बढ्यो गुल्मीको हरेवा झरनाको आकर्षण, अन्तरिक र बाह्य पर्यटक यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २२ गते १४:२६
बढ्यो गुल्मीको हरेवा झरनाको आकर्षण, अन्तरिक र बाह्य पर्यटक यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

२२ चैत २०७७ गुल्मी । गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ हरेवामा रहेको झरना हेर्न पर्यटक आउने क्रम बढ्न थालेको छ । पहिले झरना मात्र भएको क्षेत्रमा प्रदेश र स्थानीय सरकारले केही भौतिक संरचना बनाएपछि यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको राम्रो गन्तव्य भएको हो ।

गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ हरेवामा रहेको अर्जेवा झरना अहिले राम्रो पर्यटकीय गन्तव्य बनेको छ । कुनै समय गुमनाम रहेको शान्तिपुरको यो झरना पछिल्लो समयमा पर्यटकीय गन्तब्य बनेको छ ।

१ सय मिटरभन्दा माथिबाट झरनामा पानी आइरहने हुनाले पनि पर्यटकहरु फोटो खिच्नका लागि आउने गर्दछन् । शान्तिपुर प्रवेशद्धारको रुपमा रहेको मुख्य सडकमा झरना पर्ने भएकाले पनि यहाँ पर्यटकको चहलपहल बढ्ने गरेको हो ।

गुल्मी, बाग्लुङ्ग लगायतका ठाउँबाट आन्तरिक पर्यटक बढी यस ठाउँमा आउने गर्दछन् । यस झरनाको मनमोहक दृश्यावलोकन र सामाजिक सञ्लालमा फोटो भिडियो बनाउन र पिक्निक स्पट पनि भएकाले दैनिक जसो भिड लाग्ने गर्दछ ।

हरेवा झरनालाई व्यवस्थित गर्नका लागि प्रदेश सरकार र गाउँपालिकाको ४९ लाख रुपैयाँ लगानीमा भौतिक संरचना बनाइएको छ ।

डिभिजन वन कार्यालय गुल्मी, चन्द्रकोट गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा, गेट निमार्ण, शिवजीको मुर्ति स्थापना, प्रतिक्षालय भवन, तार जाली लगाउने काम भएको छ।

आगामी दिनमा पर्यटकको आवागमनलाई बृद्धि गर्न रक क्लाइम्बिङ्ग गर्ने ठाउँ बनाउने, पोखरी निमार्ण गर्ने र गुरुङ्ग समुदायको गुम्बालाई व्यवस्थित गरी भित्तामा विभिन्न आकृतिहरुको चित्र बनाउने योजनासमेत गाउँपालिकाले अगाडि सारेको छ । झरनालाई व्यवस्थित गर्ने र राम्रो पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाको योजना छ ।

बाह्रै महिना पानी झर्ने यो झरना गुल्मीको एउटा राम्रो पर्यटकीय गन्तव्य हो । यसको दीर्घकालिन संरक्षणमा भने स्थानीय सरकारसँग सँगै स्थानीय बासिन्दाले पनि विशेष चासो दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *