प्रिमियर लीगमा लेस्टर सिटीमाथि म्यान्चेष्टर सिटीको महत्वपूर्ण जित
२२ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगमा म्यान्चेष्टर सिटीले लेस्टर सिटीमाथि महत्वपूर्ण जित निकालेको छ ।
लेस्टरको मैदानमा २–० को जित हात पार्दै सिटीले लिग तालिकामा १७ अंकको अग्रता लिएको छ ।
किंग पावर स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बनेको थियो । ५८औं मिनेटमा बेन्जामिन मेन्डीले गोल गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए ।
७४औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । यो जितसँगै सिटीले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । सिटीले ३१ खेलबाट ७४ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको ५७ अंक छ । लेस्टर सिटी भने ५६ अंकसहित प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा छ ।
अर्को खेलमा लिभरपुलले आर्सनललाई उसैको मैदानमा ३–० ले हराएको छ । लिभरपुलको जितमा डिएगो जोटाले दुई गोल गरे भने मोहमद सलाहले एक गोल थपे ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६४औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए ।
८२औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले ३–० को जित निकाल्यो । जितसँगै लिभरपुल ४९ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । आर्सनल भने ४२ अंकसहित नवौं स्थानमा छ ।
प्रतिक्रिया