समाज

वर्षेनि डेढदेखि २ अर्बसम्म बजेट, तर नहर निर्माणको काम प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २२ गते ६:०६
वर्षेनि डेढदेखि २ अर्बसम्म बजेट, तर नहर निर्माणको काम प्रभावित (भिडियो रिपोर्टसहित)

२२ चैत २०७७ बाँके । बाँकेमा निर्माणधिन सिक्टा सिंचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना हो । आयोजनाका लागि सरकारले बर्सेनि डेढदेखि २ अर्ब रुपैयाँसम्म बजेट बिनियोजन गर्दै आएको छ । तर सिक्टा सिंचाइ आयोजनामा इन्जिनियरदेखि प्राविधिक कर्मचारीको अभावका कारण नहर निर्माणको काम प्रभावित भइरहेको छ ।

२०७० को माघसम्म पूरा गर्ने लक्ष्यसहित २०६२(०६३ मा शुरु भएको सिक्टा सिंचाइ आयोजनाको काम बल्लतल्ल ६८ प्रतिशत पूरा भएको छ । आयोजना शुरु हुँदा यसको लागत १२ अर्ब ७० करोडको अनुमान गरिएको थियो । ६८ प्रतिशत काम पुरा हुँदा १६ अर्ब ६१ करोड खर्च भइसकेको छ ।

आयोजनाको काम समयमा नै पूरा नहुनुको एउटा कारण कर्मचारीको अभाव पनि हो । आयोजनामा इन्जिनियरदेखि प्राविधिकसम्म गरेर अधिकृत तहका १६ जनाको दरबन्दी भए पनि ९ जनाको दरबन्दी खाली छ ।

आधा कर्मचारी नहुँदा काम प्रभावित भइरहेको छ तर पनि सिचाई मन्त्रालयले कर्मचारीले पठाएको छैन । तर मन्त्री फेरिएपिच्छे आयोजनाको अनुगमनमा जान्छन अनि समस्या हुन नदिने बाचा पनि गर्छन तर समस्या ज्यूँका त्यूँ रहन्छ ।

सिक्टा सिचाई आयोजनामा पछिल्ला दिनमा शाखा नहर निर्माण हुने क्षेत्रमा जग्गा अधिग्रहण गर्ने, मुआब्जा रकम निर्धारणका लागि आवश्यक कागजपत्र तयार पार्ने जस्ता प्राविधिक काम गर्ने अमिन तथा सर्भेक्षक नहुँदा काममा ढिलाई हुने गरेको छ । जग्गा अधिग्रहणको काम पछि निर्माण गर्नु पर्ने संरचनाको डिजाइन इष्टिमेट तयार पार्नका लागि गर्नु पर्ने ३ जना सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी पनि लामो समयदेखि रिक्त छ ।

करिब साढे ३ अर्बको लागतमा निर्माण भएको सिक्टा सिचाई आयोजनाको हेडबक्स र त्यहाँ जडान गरिएका अत्याधुनिक प्रबिधि सहितको कन्ट्रोल रुम संचालनका लागि आबश्यक पर्ने मेकानिकल इन्जिनियरको दरबन्दी पनि बर्षौ देखि खाली छ । सिंचाई सुबिधा बिस्तार पछि कृषि उपजहरुको उत्पादन बृद्धि बजारीकरण जस्ता काममा किसानहरुलाई सहजीकरण गर्नु पर्ने कृषि इन्जिनियर र समाजशास्त्रीको पद पनि रिक्त छ ।

सिक्टाको पश्चिम मूल नहरको करिब ५ किलोकिटर क्षेत्रमा नहर निर्माण सम्पन्न भई राम्रो संग पानी नचल्दै नहर भत्किने समस्या बढ्दै गए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना निर्माणमा संलग्न पूर्व आयोजना प्रमुख सहित ११ जना २०७५ मंसिर २१ गते शेष अदालतमा मुद्दा दायर गर्यो ।

जुन मुद्दा अहिले पनि बिचाराधिन छ । सिक्टा सिचाई आयोजनामा काम गर्दा सिचाई बिभागमा राम्रो संभाबना बोकेका योग्य इन्जिनियरहरु पनि भ्रष्ट्राचारको मुद्दामा परे । धेरै इन्जिनियरको करियर नै जोखममा पर्यो ।

अख्तियारको निगरानीमा परेको र धेरै कर्मचारीहरु बिरुद्ध मुद्दा चलिरहेका कारण सिचाई बिभागका धेरै जसो कर्मचारीहरु सरुवा भएर सिक्टा सिचाई आयोजनामा आउनै चाहँदैनन । सरुवा भएर आए पनि कामै गर्दैनन । जसका कारण नहर निर्माणको कामले गति लिन सकेको छैन ।

सरकारले गौरबको आयोजना घोषणा गर्ने तर समस्या समाधान नगर्ने परिपाटीले लागत बढ्ने भइरहेको छ । कर्मचारी व्यवस्थापनदेखि काम गरेर सरकारले आयोजनालाई गति दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *