खेलकूद

आहा रारा गोल्ड कप फूटबलमा एपीएफसँग आयोजक सहारा पराजित

हिमालय टिभी
२०७७ चैत २१ गते १७:२१
आहा रारा गोल्ड कप फूटबलमा एपीएफसँग आयोजक सहारा पराजित

२१ चैत २०७७ पोखरा । आहा रारा गोल्ड कप फूटबलको १९ औ संस्करण पोखरामा आज शुरु भएको छ । उद्घाटन खेलमा जीत निकालेर एपीएफ क्लब सेमिफाइनलमा पुगेको छ ।

आयोजक सहारा क्लब पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालामा अन्तिम केही मिनेट सम्हालिन नसक्दा आयोजक सहारा १(० गोल अन्तरले पराजित भयो ।

एपीएफका आशिष लामाले ८७ औ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । त्यसअघि दुबै पक्षले गोलका लागि प्रयास गरे पनि सफल भएका थिएनन् । लामाले अन्तिम समयमा बाँया खुट्टाले उत्कृष्ट गोल गर्दै टिमलाई जीत दिलाए ।

विश्वास उदासको पासमा उनले पहिलो बार च्यापेर प्रहार गरेको बल सहाराका गोलरक्षक दीप कार्कीले रोक्न सकेनन् । मनाङ मर्स्याङ्दी र संकटा क्बलबीचको विजेतासँग एपिएफले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । एपीएफले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।

प्रतियोगितामा एक विदेशीसहित ८ टोलीको सहभागिता छ । भोली मच्छिन्द्र क्लब र विदेशी टिम क्यामरुनको अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । उपाधि विजेताले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

क्याराभान गोल्डकपसहित २० वर्षदेखि निरन्तर सञ्चालन भइरहेको प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ । पोखराको दोबिल्लामा क्लबबाट सञ्चालित एकेडेमीमा हाल २४ बालक आश्रित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्