आर्थिक

पोषक तत्वले भरिपूर्ण सजीवन, विदेशमा मात्र होइन स्वदेशमै यसरी बढ्यो माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २१ गते १४:२२
पोषक तत्वले भरिपूर्ण सजीवन, विदेशमा मात्र होइन स्वदेशमै यसरी बढ्यो माग (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ धनकुटा । नेपाली भान्सामा पाक्ने तरकारीमध्ये एक लोकप्रिय तरकारी हो सजीवन । मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व प्रशस्त पाइने सजीवनको लोकप्रियता पछिल्लो समय झनै बढ्दो छ । नेपालमा सब्जीको रुपमा मात्र प्रयोग गर्ने गरिएको सजीवन विदेशमा भने मसलाको रुपमा समेत प्रयोग हुने गरेको छ ।

धनकुटाको मूलघाटबाट तराई झर्ने या माथिल्लो क्षेत्र जाने जो कोहीका लागि अहिले कोशेली बन्ने गरेको छ सजीवन । एक दशकअघिसम्म विक्री वितरण नै नहुने सजीवन अहिले भने धेरै नेपालीको भान्सामा परिकार बन्न थालेको छ । धनकुटाको तमोर नदी आसपासका बासिन्दाका लागि सजीवन गतिलो आम्दानीको स्रोत पनि बनेको छ । स्थानीय बासिन्दाले कोशी राजमार्गमा आवतजावत गर्नेलाई सजीवन बेचेर कमाइ गर्छन् ।

मानव शरीरलाई उपयोगी हुने थुप्रै पोषक तत्व पाइने सजीवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको जराबाहेक सबै प्रयोग हुन्छ । फल तरकारी हुन्छ भने बोक्रा, काठ, फूल, मुन्टा र पात धुलो बनाएर मसलाका रुपमा प्रयोग गर्न सकिन्छ । यसको मसलाको माग विकसित मुलुकमा बढी हुने गरेको कृषि अभियन्ता बताउँछन् ।

नेपालमा एक दशकयता मात्र बढी प्रयोग हुन थालेको सजीवनको माग बढ्दै गएको छ । माग बढेपछि धनकुटाका कतिपय स्थानमा यसको व्यवस्थित रुपमै खेती गर्न थालिएको छ ।

पानी कम भएको सुख्खा क्षेत्रमा पनि सजीवनको खेती गर्न सकिन्छ । कृषि अभियानता जीवन राईले तयार पारेको तथ्याङ्कका आधारमा धनकुटाको तमोर र अरुण नदी आसपासको करिब १५ हजार हेक्टर क्षेत्रफलमा यसको खेती गर्न सकिन्छ ।

भिटामीन ए, बी, सी सहित क्याल्सियम, पोटासियम, आइरन जस्ता पोषक तत्व पाइने भएकाले विज्ञले सजीवनको उत्पादन र प्रयोग बढाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *