राजनीति

संवैधानिक निकाय सेटिङमा चलाउन खोजिएको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १७:०३
संवैधानिक निकाय सेटिङमा चलाउन खोजिएको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज फासिवादी निरंकुशतातिर जाने खतरा रहेको बताउनुभएको छ ।

आज वामपन्थी नेता स्व.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फासिवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताएको हो ।

देशभित्र र बाहिरका शक्तिहरु संवैधानिक निकायहरुसमेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उहाँले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताउनुभयो । नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘समाज चरम फासिवादी निरंकुशतातिर जाने खतरा छ । हामी त्यसका विरुद्ध खबरदारी गरेका छौँ । अहिले तपाई हामीले सुन्ने गरेको शब्द एउटा छ । अलि बढी नै सुन्ने गरेका छौँ सेटिङ । देश भित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुकोबीचमा सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने । त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारका विरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो विचित्रको स्थितिमा हामी अहिले छौं ।’

अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीहरुमाथि प्रहार हुन थालेको बताउनुभयो । उहाँले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकोले कम्युनिष्टप्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीमाथि प्रहार हुन थालेको बेला छ यो । जातीय, भाषिक, वर्गीय, उन्मुक्तितिर अगाडि बढेको, लामो संघर्षबाट प्राप्त उपलब्धीमाथि प्रहार हुन लागेको अवस्था छ । राज्य सबभन्दा बढी सुशासन र पारदर्शिताको प्रतिक हुनुपर्ने हो । सबभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको बेला छ यो । कम्युनिष्टहरुको एकता र उनीहरुप्रति जनताको जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको बेला छ । कम्युनिष्ट आन्दोलनभित्रैबाट सबैभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिनु, उनीहरुको नेतृत्वमा रहेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरु यत्रतत्र देखिनु आफैमा ठुलो विडम्बना भएको छ ।’

अध्यक्ष प्रचण्डले सडक विस्तारको नाममा सडक नजिकै भएका घरहरु भत्काएर जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताउनुभयो । नेपालका नेवार समुदायलाई राज्यले जे गरेपनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, साँस्कृतिक वैभव र संरचनाहरुलाई विकासको नाममा मिचिदिने प्रवृत्ति बढेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्