खेलकूद

थ्री नेशन्स कप उपाधि विजेता खेलाडीलाई सरकारले जनही चार लाख दिने

हिमालय टिभी
२०७७ चैत २० गते १५:११
थ्री नेशन्स कप उपाधि विजेता खेलाडीलाई सरकारले जनही चार लाख दिने

२० चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फूटबल टोलीका सदस्यलाई सरकारले जनही चार लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले विजेता टोलीका सबै खेलाडीलाई प्रोत्साहन स्वरुप जनही चार लाख नगद दिने निर्णय गरेको हो । गत सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेको हो ।

प्रतियोगिता हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुग्नुभएको थियो । उपाधि जितिसकेपछि खुशियाली मनाउने क्रममा खेलाडीले प्रधानमन्त्रीको प्रसंशामा नारावाजी गरेका थिए ।

खेलकूदका पदाधिकारीले नै प्रधानमन्त्रीको समर्थनमा नारा लगाए नगद पुरस्कार पाइने भन्दै खेलाडीलाई प्रोत्साहन गरेको खबर सार्वजनिक भएको थियो । अहिले सरकारले घोषणा गरेको नगद पुरस्कारलाई त्यो घटनासँग समेत जोडेर हेरिएको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले पनि खेलाडीलाई जनही एक लाख नगद दिने घोषणा गरिसकेको छ । यस्तै उपाधिसँगै पाएको पाँच हजार डलर पनि खेलाडीलाई नै दिइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्