प्लास्टिकका भाँडाले बजार लिएपछि कुमाल समुदायको पेशा यस्तो संकटमा (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ दाङ । दाङको देउखुरीका कुमाल समुदायले लामो समयदेखि माटाका भाडा बनाउने पेशा गरिरहेका छन् । तर पछिल्लो समय माटाको भाँडाको ठाउँ प्लाष्टिकका भाँडाले लिँदा कुमाल समुदायको पुर्ख्यौली पेशा सङ्कटमा पर्न थालेको छ ।
दाङ देउखुरीको गढवा बजार नजिक कुमाल समुदायको बस्ती छ । यो बस्तीमा बस्ने सबै जसोले माटोको भाँडा बनाउने पेसा अपनाउँदै आएका छन् । तर यो पेशाबाट आम्दानी भने खासै नभएको र परिवार पाल्नै गार्हो भएको उनीहरुको गुनासो छ ।
माटोको भाँडालाई एक दुई हप्ता जति सुकाएर फेरी आगोमा पोल्नुपर्छ । अनि बल्ल विक्री गर्न लायक हुन्छ । सामुदायिक वन र राष्ट्रिय वन नजिकै छ तर दाउरा भने सहजै पाइँदैन् । त्यसैले माटोको भाँडा बनाउन नै कठिन छ । जेनतेन माटोको भाँडा तयार भए पनि बजार नहुँदा कठिन भएको छ ।
पछिल्लो समय बजारमा प्लाष्टिकका भाँडाहरु आउन थाले पछि माटोका भाँडा लोप हुँदै जान थालेका छन् । केही वर्ष अघिसम्म कुमाल समुदायले बनाएका भाँडा घोराही, तुलसीपुर र पुरै देउखुरी क्षेत्र हुँदै कैलाली कञ्चनपुरसम्म पुग्ने गर्थ्यो । तर अहिले मोबाइलको जमाना आएपछि फोनबाटै व्यापार हुने गरेको छ । तर त्यो पर्याप्त छैन ।
माटोका भाँडा बनाउने पेशा लोप हुन थालेपछि संरक्षणका लागि गाउँपालिकाले पनि यसमा चासो देखाएर काम थालेको छ ।
कुमाल समुदायको लोप हुन लागेको पेशामा राज्यले लगानी गरेर संरक्षण गरिदिए युवा पिढीले पेशालाई निरन्तरता दिन सम्भावना छ ।
प्रतिक्रिया