खेलकूद

जसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट विराम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते ७:३८
जसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट विराम (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । काठमाडौंमा सम्पन्न थ्री नेशन्स कप फुटबल प्रतियोगितासँगै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । दशरथ रंगशालामा बंगलादेशलाई पराजित गरेको खेलमा सहभागी हुँदै महर्जनले आफ्नो अन्तराष्ट्रिय करिअरमा विराम लगाएका हुन् । महर्जन राष्ट्रिय टोलीबाट सर्वाधिक धेरै खेल खेल्ने खेलाडी हुन् ।

तीन राष्ट्र सम्मिलित प्रतियोगिताको उपाधि जित्न नेपाललाई गोलको विकल्प थिएन । बंगलादेशविरुद्ध खेलको पहिलो हाफमै सन्जोक राई र विशाल राईको गोलबाट नेपालले अग्रता लिएपनि अन्तिम समयमा बंगलादेश खेलमा फर्कियो । दबाबबीच नियमित समयको अन्तिममा प्रशिक्षक बालगोपाल महर्जनले विराजलाई मैदान छिराए ।

कप्तान किरण चेम्जोङले उपकप्तान रोहित चन्दमार्फत विराजलाई आर्मब्यान्ड लगाई मैदानमा स्वागत गर्दा दर्शकदीर्घाबाट पनि उत्तिकै साथ मिल्यो । करिब ७ मिनेट मैदानमा बिताए पछि बंगलादेशलाई हराउँदै नेपालले ३७ वर्षपछि दशरथ रंगशालामा उपाधि जित्यो । त्यसैले पनि यो खेल सबै खेलाडी र खेल प्रेमीका लागि विशेष रह्यो । तर पूर्व कप्तान विराज महर्जनका लागि भने यो खेल खास थियो ।

खेल समाप्तिको घोषणासँगै नेपाली टोली जितको उत्सबसँगै विराजको विदाई पनि गरे ।टोलीका सदस्यले काँधमा बोक्दै विराजलाई मैदान घुमाउँदा दर्शकबाट पनि कुनै कन्जुस्याइँ भएन । मैदान पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर औपचारीक बिदाई गर्दा खेलाडीले गार्ड अफ अनर दिए ।नयाँलाई अबसर दिन पनि बिदाई लिने सोचमा पुगेको भन्दै विराज आफ्नो खेल जिवन यसरी सम्झिन्छन् ।

घरेलु फुटबलमा सफल विराज नेपालका सफल कप्तान पनि हुन् । त्रिपुरेश्वरका विराज फुटबल माहोलमै हुर्किए । एन्फा एकेडेमीको तेस्रो ब्याचका उत्पादन विराजले उमेर समुहदेखी नेपालको प्रतिनिधित्व गर्दै २०६४ सालमा सिनियर टोलीमा डेब्यु गरे । पोखरामा पाकिस्तानसित भएको मैत्रीपूर्ण खेलबाट विराजले सिनियर टोलीको यात्रा थालेका हुन् ।

झण्डै १३ वर्ष राष्ट्रिय टोलीबाट खेलेका विराजले नेपालका लागि सर्वाधिक ७३ क्याप जित्दै एक गोल गरेका छन् । २००९ मा भएको एएफसी च्यालेन्जकपमा किर्गिस्तानविरुद्ध उनले गोल गरेका थिए । उनले दुई वर्षअघि आफ्नै प्रशिक्षक तथा पूर्व कप्तान राजु शाक्यको नाममा रहेको ६८ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान तोडेका थिए । अब्बल डिफेन्डर विराजले कप्तान पाउँदा नेपाली फुटबल इतिहासकै कठिन समयबाट गुज्रिरहेको थियो ।

सन् २०१५ मा तत्कालीन कप्तान सागर थापासहितका खेलाडी म्याच फिक्सिङमा मुछिएपछि विराजले जिम्मेवारी पाए। त्यही वर्ष भारतमा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक विराजले टोलीको कप्तानी गरे । युवा खेलाडीको रहेको नेपाल समूह चरणबाटै बाहिरीयो । तर एक वर्ष पछिनै नेपाली टोलीले ३ वटा ठूला उपाधि जित्यो ।

विराजको कप्तानीमा नेपालले २३ वर्षपछि पहिलो अन्तराष्ट्रिय उपाधिका रुपमा सन् २०१६ मा बंगलदेशमा बंगबन्धु कप जितेको थियो । त्यसअघि सन् १९९३ मा बंगलादेशमै भएको सागमा नेपालले स्वर्ण जितेको थियो भने १९९९ मा घरमै भएको सागमा फाइनल खेलेयता नेपाल फाइनल प्रवेश गर्न सकेको थिएन । त्यही वर्ष भारतमा १२ औं दक्षिण एसियाली खेलकुद साग र मलेसियामा सोलिडारिटी कप जितेको थियो ।

सोलिडारिटी कपमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो महादेशीय उपाधि जितेको हो । यसबीचमा विराजले १८ खेलमा राष्ट्रिय टोलीको कप्तानी गरे । पछिल्लो समय फिटनेशका कारण कहिले टोली बाहिर त कहिले बेन्चमै सिमित उनी २०१९ को जुनमा मलेसियासँग मैत्रीपूर्ण खेलका लागि टोलीमा थिए । मलेसियामै भएको खेलमा नेपाल २(० ले हार्यो । राष्ट्रिय टोलीको बुट थन्काए पनि फुटबलबाट टाढा नहुने उनको धारणा छ ।

नेपाली टोलीमा अनुशासित खेलाडीको छवि बनाएका विराजले २०६३ सालमा संकटा क्लबबाट व्यवसायिक फुटबल यात्रा थालेका थिए । त्यसपछि, न्युरोड टिम एनआरटी हुँदै थ्रिस्टार क्लब पुगेका उनी क्लब फुटबलमा तीनवटा क्लबबाट शीर्ष डिभिजनको उपाधि जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । पहिलो पटक थ्रिस्टारबाट सहिद स्मारक ए डिभिजन लिग जितेका विराजले त्यसपछि मनाङ मस्र्याङ्दी र पछिल्लो पटक मछिन्द्र क्लबबाट लिगको उपाधि उचाले । राष्ट्रिय टोलीबाट बिदा लिएपनि उनका समर्थकले उनलाई क्लब फुटबल देख्न पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्