खेलकूद

पूर्व कप्तान विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास

हिमालय टिभी
२०७७ चैत १६ गते २०:३९
पूर्व कप्तान विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास

१६ चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फूटबल प्रतियोगितासँगै राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास लिएका छन् ।

दशरथ रंगशालामा बंगलादेशसँग खेल्दै विराजले आफ्नो अन्तर्राष्ट्रिय फूटबल यात्रामा पूर्ण विराम लगाएका हुन् । अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि ३१ वर्षीय महर्जनले क्लब फूटबल अझै खेल्ने बताएका छन् ।

एक दशक भन्दा बढी नेपाली टोलीको जर्सीमा देखिएका उनी राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् । एन्फा एकेडेमीको तेस्रो ब्याचका उत्पादन विराजले उमेर समूहदेखि नेपाली टोलीको प्रतिनिधित्व गर्दै २०६४ सालमा सिनियर टोलीमा डेब्यु गरेका थिए ।

पोखरामा भएको मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई १–० गोलले हराउँदै विराजले सिनियर टोलीको यात्रा थालनी गरेका हुन् । सन् २०१५ मा नेपाली टोलीका खेलाडी म्याच फिक्सिङमा मुछिएपछि विराजले भारतमा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक कप्तानीको जिम्मेवारी पाएका थिए ।

विराजको कप्तानीमा नेपालले २३ वर्षपछि पहिलो अन्तराष्ट्रिय उपाधिका रुपमा सन् २०१६ मा बंगलादेशमा बंगबन्धु कप जितेको थियो । भारतमा १२ औं दक्षिण एसियाली खेलकुद साग र मलेसियामा सोलिडारिटी कप पनि जितेको थियो ।

२०६३ सालमा संकटा क्लबबाट व्यावसायिक फुटबल सुरु गरेका विराजले थ्रिस्टार, मनाङ मस्र्याङ्दी, र पछिल्लो पटक मछिन्द्र क्लबबाट ए डिभिजन लिगको उपाधि जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्