समाज

नेपालमा क्षयरोग लुकाउँदा र उपचारमा पहुँच नहुँदा दैनिक २० जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १६ गते १४:०७
नेपालमा क्षयरोग लुकाउँदा र उपचारमा पहुँच नहुँदा दैनिक २० जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ नेपालगञ्ज । टीबी अर्थात क्षयरोग सरुवा रोग हो । स्वास्थ्य परीक्षण गराई नियमित रुपमा औषधि खाने बिरामीमध्ये करिब ९० प्रतिशत निको हुन्छन् । तर बिरामी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर भएका कारण नेपालमा दैनिक २० जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको छ ।

क्षयरोग अर्थात टीबीका बारेमा पर्याप्त जानकारी नहुँदा अझै पनि ५० प्रतिशत बिरामी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर छन् । ठूलो संख्यामा बिरामी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर भएका कारण टिबी रोगको अवस्था भयावह छ ।

उनीहरुलाई स्वास्थ्य संस्थामा ल्याएर उपचार सेवा प्रदान गर्ने तर्फ भने प्रभाबकारी रुपमा पहल हुन सकेको छैन । खोकी लाग्ने, छाती दुख्ने र ज्वरो आउने लक्षण भएका बिरामी आफैं स्वास्थ्य संस्थाहरुमा पुग्ने गरेका छन् ।

टीबी रोग छातीमा मात्रै हुन्छ भन्ने अल्पज्ञानका कारण हड्डी, आन्द्रा र डिम्बाशय लगायतका अंगमा हुने टिबीका बिरामीहरु स्वास्थ्य संस्थाको पहुँचमा पुग्न सकेका छैनन् । नेपालगन्जको टीबी रिफरल सेन्टरमा दैनिक ५० देखि ६० जना बिरामी जाँच गराउन आउँछन् ।

विश्व टिबी रोग दिवसका अवसरमा विराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) र कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखाले लोक दोहरीमार्फत टिबी रोगको लक्षण, र पहिचान, उपचार र बिरामीलाई गरिने भेदभावका बारेमा जानकारी मुलक शन्देश दिएको छ ।

ग्रामीण क्षेत्रमा निक्कै लोकप्रिय रहेको लोक दोहोरीका माध्यमबाट टिबी रोगका बारेमा समुदाय तहमा जानकारी पुराउने उद्देश्यले लोक दोहोरी कार्यक्रम गरिएको हो । बीएनएमटीले क्षरोगीहरुको पहिचानका लागि कार्यक्रमहरु गरिरहेको छ ।

उपचारको पहुँचमा आएर औषधि खान शुरु गरेका बिरामीमा पनि औषधि कोर्स पुरा नहुँदै बिचैमा छोड्ने प्रवृत्ति बढ्दै गएको छ । औषधि बिचैमा छाड्दा बिरामीमा सामान्य औषधिले काम नगर्ने कडा खालको टिबीको संक्रमण हुने जोखिम उच्च हुन्छ ।

गरिबी, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, सामाजिक कुरितीका साथै टिबी रोगको निदान र उपचार निःशुल्क पाइने जानकारी नपुग्दा टिबी रोग नियन्त्रण हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *