खेलकूद

आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुंगियो

हिमालय टिभी
२०७७ चैत १५ गते १९:२१
आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुंगियो

१५ चैत २०७७ काठमाडौं । एएफसी कप–२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू–२३ टिमसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

किर्गिस्तानविरुद्ध आर्मीले पकड बनाउँदा उसले गोल गर्न भने सकेन । खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाऊ गरे ।

खेलको २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो । ४७ औं मिनेटमा विवेक बस्नेतले करिब १८ यार्डबाट गोल गर्न सकेनन् ।

अनमार्क रहेका उनको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ७३ औं मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको कडा प्रहार किर्गिस्तानका परिवर्तित गोलकिपर टोकोतेभले बचाए । ८५ औं मिनेटमा किर्गिस्तानले गोलको अवसर पाएको थियो । तर, अभिलोभले किपर अघि बढेको अवस्थामा गोल गर्न सकेनन् ।

आर्मीले एएफसी कपको प्ले अफमा श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले एएफसी कप(२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ । आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह डीमा स्थान बनाउने छन् । समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् ।

यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्