राजनीति

एकदुई दिनमै सममर्थन फिर्ता हुन्छः प्रचण्ड, जसपभा अध्यक्षले भने–माग पूरा गराउन मात्र ओलीसँग वार्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते १८:२१
एकदुई दिनमै सममर्थन फिर्ता हुन्छः प्रचण्ड, जसपभा अध्यक्षले भने–माग पूरा गराउन मात्र ओलीसँग वार्ता (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।

बृहत नागरिक आन्दोलनले आ काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो । केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गएपनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने बताउनुभएको हो ।

तर अहिलेको राजनीतिक सङ्कटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस् र सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीलाई हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुले मलाई हत्त र पत्त समर्थन फिर्ता नलिनु है भनेर जबरजस्त दबाब छ म माथि । जबरजस्तै छ । मैले नाम चाहिं भन्दिनँ कसैको हत्त र पत्त समर्थन फिर्ता लिइस् भने झन उल्टो पर्छ है भन्ने छ । मैले भनिराखेको छु नैतिक र राजनीतिक ढङ्गले म अब धेरै दिन पर्खिन सक्दिनँ । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु त्यसलाई मैले समर्थन गर्न सक्दिनँ चाहे राजनीति जतासुकै जाओस । मैले मेरो राजनीति र मेरो नैतिकतालाई मैले बचाउनु पर्दछ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु । तर मेरो कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं ति राजनीतिक दलहरुको बीचमा अवको निकासबारे एउता न्यूनतम सहमति र समझदारी होस् । अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नको निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एक दुई दिन रोकेको मात्रै हो ।’

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोष आफूहरुमाथि लाग्ने गरेको बताउनुभयो । ओली सरकारमा भएका कारण आफूहरुका माग पुरा गराउन ओलीसँग कुरा गरेको पनि प्रष्ट पार्नुभयो । उहाँले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले स्वार्थको लडाइँ भइरहेको छ कम्युनिष्ट पार्टीभित्र । त्यसमा हामीलाई किन उ गर्ने । तपाई अविश्वासको प्रस्ताव भन्नुहुन्छ । आफ्नो पार्टीमा अविश्वासको प्रस्ताव ल्याएर त्यसको समाधान गर्नुहोस् न । त्यो भइरहेको छैन ।’ उहाँले प्रचण्डको र आफूहरुको पीडा फरक रहेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताउनु भएको छ । उहाँले ओली प्रधानमन्त्री भएकै दिन देखि नै आफूहरुले विश्वासको मत नदिएको बताउनुभयो । त्यसैले प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए कांग्रेसले मत दिन नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘हामीहरुले कुनैपनि हालतमा प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव जहाँसुकैबाट जसरी आएपनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौ । अहिलेका प्रधानमन्त्रीसँग प्रधानमन्त्री भएकै दिनदेखि हाम्रो विश्वास छैन ।’

तर अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउनेभन्दा पनि संसदको ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने मनशायमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीलाई ७६ को २ मा बसिराख्न मन छैन । प्रधानमन्त्रीलाई ७६ को ३ मा अथवा ५ मा पुग्ने हतार छ । ७६ को ५ को पनि उहाँलाई हतार छैन ७६ को ३ भनेको सबैभन्दा ठूलो राजनीतिक दलको नेताका रुपमा विश्वासको मत प्राप्त नगरेर पनि प्रधानमन्त्री हुने र ७६ को ५ को प्रधानमन्त्री बहुमतको प्रधानमन्त्री हुन नसक्ने अवस्थामा ७६ को ७ को प्रावधानलाई ७६ को ३ को प्रधानमन्त्रीले पनि प्रयोग गर्न सक्ने त्यो चाहनालाई उहाँले गम्भिरतापूर्वक लिनुभएको छ र हेर्नुभएको छ । र त्यता मुलुकको राजनीति जाओस भन्ने उहाँको चाहना छ भन्ने हामीलाई लागेको छ । हाम्रो अनुमान गलत हुन सक्छ । तपाईहरुकोबीचमा हामीले के राख्नुपर्छ भने यो एसेस्मेन्टलाई पनि गम्भिरतापूर्वक हेरिदिनुहोस । र त्यसमा हामीले अघि प्रचण्डजीले इङ्गीत गर्नुभयो कि विश्वास फिर्ता लिदाखेरी ७६ को २ प्रधानमन्त्रीलाई सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन बाध्य हुनुहुन्छ । विश्वासको मत उहाँले पाउनुहुन्न । तर आजको दिनमा प्राविधिक रुपमा राजनीतिक रुपमा केपी शर्मा ओलीसँग संसदको बहुमत पनि छैन केपी शर्मा ओलीको विपक्षमा प्राविधिक रुपमा बहुमत पनि छैन । राजनीतिक रुपमा बहुमत छ प्राविधिक रुपमा बहुमत छैन । त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ त्यसलाई एउटा समयसम्म त्यो फाइदा नप्राप्त गर्नुहोस भन्ने हाम्रो चाहना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्