आर्थिक

बढेनन् लुम्बिनीमा पर्यटक, पर्यटक बढाउने विकास कोषको यस्तो योजना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते १४:४४
बढेनन् लुम्बिनीमा पर्यटक, पर्यटक बढाउने विकास कोषको यस्तो योजना (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ बुटवल । कोरोना संक्रमणका कारण विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्ध जन्मेको लुम्बिनी लामो समय बन्दाबन्दीको अवस्थामा थियो । बन्दाबन्दी खुलेपछि लुम्बिनी क्षेत्रमा पर्यटकको आगमनमा वृद्धि हुन सकेको छैन ।

जसले गर्दा पर्यटन व्यवसायी चिन्तित छन् । लुम्बिनी विकास कोषले भने बृहत्तर पूजा आयोजना गरेर कोरोनाकालमा भएको १२ अर्बभन्दा बढी क्षतिको पुनरुत्थान गर्ने योजना बनाएको छ ।

पोहोर लकडाउन भएसँगै बन्द भएको लुम्बिनी क्षेत्रमा पर्यटकको आगमन अहिले पनि उल्लेख्य बढ्न सकेको छैन । मंसिरदेखि पूर्णरुपमा लकडाउन हटेपछि लुम्बिनीमा अहिलेसम्म १ लाख ४१ हजार ५ सय ७९ जना आन्तरिक पर्यटक पुगेका छन् । ५ हजार ७ सय ४८ जना भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

आन्तरिक पर्यटकको संख्यामा केही वृद्धि भए पनि विदेशी पर्यटकको संख्या निकै कम छ । बन्दाबन्दी खुलेपछि भारतबाहेकका तेश्रो मुलुकका सवा एक सय पर्यटक आएका छन् ।

लुम्बिनी क्षेत्रमा करिव एक सय सानादेखि ठूला होटल सञ्चालनमा छन् । अर्वौँको लगानी रहेका होटल व्यवसाय कोरोनाकालमा सबैभन्दा बढी मारमा परेको व्यवसाय हो । बन्दाबन्दी खुलेपछि डुबेको लगानी उठाउने आशमा रहेका व्यवसायीको मुहारमा अझै खुसी आउन सकेको छैन ।

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी क्षेत्रमा कोरोनाको कारणले पर्यटन व्यवसायमा १२ अर्बभन्दा बढी क्षति भएको अनुमान गरेको छ । क्षतिलाई पुनरुउत्थान गर्न लुम्बिनी विकास कोषले कोभिडको बेलामा भएका मानिसको मृत्युको आत्मशान्तिका लागि ठूलो पूजा आयोजन गर्ने योजना बनाएको छ । जसले गर्दा लुम्बिनीमा फेरि पर्यटन आगमनमा वृद्धि हुने विश्वास छ ।

बन्दाबन्दी अन्त्य भैसकेको यति धेरै समय बितिसक्दा पनि पर्यटकको अगमन नबढ्दा लुम्बिनीको पर्यटनलाई अझै पनि ठूलो समस्या पर्ने देखिएको छ । त्यसैले लुम्बिनी विकास कोषले भनेझैं बृहत्तर खालका कार्यक्रमहरु चरणबद्ध तरिकाले सञ्चालन गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *