समाज

धुर्कोटमा ज्येष्ठ नागरिक सेवा केन्द्र, वृद्धवृद्धाको अनुभव आदानप्रदानको थलो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते १४:३३
धुर्कोटमा ज्येष्ठ नागरिक सेवा केन्द्र, वृद्धवृद्धाको अनुभव आदानप्रदानको थलो (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा केन्द्र संचालनमा आएपछि बृद्धबृद्धालाई समय बिताउन सजिलो भएको छ । दिउँसोको समयमा घर परिवारका अन्य सदस्य काममा जाने हुँदा जेष्ठ नागरिक एक्लै घरमा बस्न बाध्य थिए ।

यो गुल्मीकै पहिलो र एक मात्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हो । धुर्कोटको वस्तुमा स्थापना गरिएको यो केन्द्रमा गाउँका बुढापाका यसरी जम्मा हुन्छन् र दिन बिताउँछन् । केन्द्रमा ज्येष्ठ नागरिकले दिउँसोको समयमा भजनकीर्तन, गफगाफ र अनुभव आदानप्रदान गर्दै सहजै दिन बिताउने गरेका छन् । जसका कारण उनीहरुलाई एक्लोपन महशुस भएको छैन ।

घरमा एक्लै बसिरहेका वृद्धवृद्धामा अहिले मेलमिलापको भावना पनि बढेको छ । केन्द्रमा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण र फरकफरक किसिमले चिया नास्ताको व्यवस्था पनि गरिएको छ ।

कोरोना कहरका कारण केही समय बन्द भएको केन्द्र अहिले पुन सञ्चालनमा आएको छ । यो केन्द्रका लागि आवश्यक खर्च प्रदेश सरकार र गाउँपालिकाले व्यहोर्ने गरेको छ ।

पढाई र जागिरको खोजीको लागि गाउँका युवा शहरबजार पस्ने गरेका छन् । घरमा एक्लै दिन बिताउन पर्ने जेष्ठ नागरिकका लागि धुर्कोट गाउँपालिकाले एक वडा एक दिवा सेवा केन्द्रको अवधारणा ल्याएको छ ।

अन्य वडामा पनि अब केन्द्र विस्तार गर्ने उसको योजना छ । अन्य स्थानीय तहले पनि धुर्कोटको जस्तै केन्द्र बनाए जेष्ठ नागरिकलाई सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *