थ्री नेशन्स कप फूटबलमा आज नेपाल र बंगलादेश भिड्दै

१४ चैत २०७७ काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फूटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिदेशीय फूटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा निकाल्नु पर्नेछ ।
बंगलादेश भने यसअघि नै फाइनल पुगिसकेको टोली हो । बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानको यू–२३ टोलीलाई १–० ले हराएको थियो । नेपालले भने पहिलो खेलमा कीर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोड्दा नेपालले समान खेलबाट १ अंक जोडेको छ । कीर्गिस्तानको भने २ खेलमा १ अंक छ ।
उता कीर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना कायमै रहेको छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भए कीर्गिस्तानले फाइनलमा स्थान पक्का पार्नेछ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल साँझ साढे पाँच बजे शुरु हुनेछ ।
प्रतिक्रिया