खेलकूद

घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो

हिमालय टिभी
२०७७ चैत १३ गते ६:०३
घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो

१३ चैत २०७७ काठमाडौं । घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । किर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुग्यो ।

मध्यान्तर अघि र पछिको खेलमा नेपाली खेलाडी किर्गिस्तानका खेलाडीमाथि हाबी भएका थिए । नेपाली खेलाडीले पटक पटक गोल गर्ने प्रयास भए पनि किर्गिस्तानी गोलकिपर प्रिएदकिन अर्तेमले सबै विफल पारी दिनुभयो ।

खेलको ६७औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिनले दोहरो पहेँलो कार्डसँगै मैदानबाट बाहिरिनुभयो । त्यसपछि २९ मिनेटसम्म किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहन पुग्यो । नेपाली टोलीले त्यसको पनि फाइदा उठाउन सकेन । रंगशालामा उपस्थित करिब आठ हजार खेलाडीले किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहँदा नेपाली टोलीबाट गोलको आश गरेका थिए । किर्गिस्तानी गोलकिपर अर्तेमले नेपाली दर्शकको आशा निराशामा परिणत गरिदिनुभयो ।

नेपाली टोली खेलको शुरुआतदेखि नै गोल गर्ने राम्रो राम्रो मौका पाएको थियो । खेलको चौँथो मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गर्नुभएको प्रयास बिफल भयो । यस्तै खेलको आठौँ मिनेटमा गरेको प्रयास पनि सफल हुन सकेन । यसैगरी मध्यान्तर अघि खेलको १० औँ, १४ औँ, २२ औँ, २९ औँ, ३४ औँ र ४३ औँ मिनेटमा पनि नेपाली टोलीबाट गोलको प्रयास भएका थिए । गोलमा परिणत हुन नसक्दा दर्शकहरू मध्यान्तरपछिको खेलमा गोलको आश गर्दै दर्शकदीर्घामा बसिरहनुभयो ।

मध्यान्तरपछिको खेलमा पनि नेपाली टोलीको प्रदर्शन त्यसअघिकै खेलको जस्तो रह्यो । खेलको ५०औँ मिनेटमा अनन्त तामाङले हेडमार्फत गोलको प्रयास गर्नुभएको थियो । उक्त प्रयासलाई किर्गिस्तानी गोलकिपर अर्तेमले असफल पारिदिनुभयो । यस्तै खेलको ५६ औँ मिनेटमा अञ्जन विष्टले उत्कृष्ट प्रयास गर्नुभएको थियो । किर्गिस्तानका गोलकिपर अर्तेमले नेपाली दर्शकलाई निराश पार्नुभयो । विष्ट खेलको ६३ औँ मिनेटमा पनि गोल गर्नबाट चुक्नुभयो । खेलको ७१ औँ मिनेटमा नेपाल आत्मघाती गोलबाट जोगिएको थियो । गोलकिपर किरण चेम्जोङले आत्मघाती गोलबाट मुश्किलले जोगाउनुभयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताउनुभयो । लामो समयको अन्तरालपछि प्रतियोगिता खेल्न पाएको भन्दै उहाँले खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिनुभयो । नेपाली टोलीको ध्यान अब बंगलादेशसितको खेलमा हुने भन्द्र महर्जनले जसरी पनि फाइनलमा पुग्ने लक्ष्यका साथ शनिबारको खेल खेल्ने बताउनुभयो । किर्गिस्तानसितको खेलमा धेरै मौका पाए पनि नेपाली टोलीको फरवार्ड चुक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको उहाँको भनाइ थियो ।

नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको फाइनल पुग्ने कुराको टुङ्गो लाग्ने छ । यसअघि उद्घाटन खेलमा बंगलादेशले किर्गिस्ताको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशले तीन अङ्क जोडेको छ भने आजको खेल गोलरहित बराबरी खेलेपछि नेपाल र किर्गिस्तानले एक एक अङ्क प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्