विश्व विजेता फ्रान्स विश्वकपको पहिलो छनोट खेलमा युक्रेनसँग बराबरीमा रोकियो
१२ चैत २०७७ काठमाडौं । विश्व विजेता फ्रान्स विश्वकप फूटबलको पहिलो छनोट खेलमा बराबरीमा रोकिएको छ ।
युरोपेली क्षेत्रको छनौट अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि १९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले सुरुवाती अग्रता दिलाए । तर ५७ औँ मिनेटमा फ्रान्सका प्रेसनल किम्पेम्बेले आत्मघाती गोल गरे ।
फ्रान्सकै खेलाडीको आत्मघाती गोल उपहार पाएको युक्रेनले त्यसपछि रक्षा लाईन मजबुद बनायो । फ्रान्सले गोलको केही अवसर पाए पनि सदुपयोग हुन सकेन ।
समूह डी अन्तर्गत नै भएको अर्को खेलमा फिनल्याण्ड र बोसनिया हर्जगोविनाले २–२ को बराबरी खेलेर अंक बाँडेका छन् । यो समूहमा रहेको काजखस्तानले भने पहिलो खेल नै खेल्न बाँकी छ ।
यस्तै गए रातिनै भएको खेलमा पोर्चुगलले उपहार गोलबाट विश्वकप फुटबल छनौट चरणमा विजयी सुरुवात गरेको छ । युरोपेली क्षेत्रको छनौट चरण अन्तर्गत आफ्नो पहिलो खेलमा समूह ए मा रहेको पोर्चुगलले अजरबैजानलाई १–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितमा ३७ औँ मिनेटमा अजरबैजानका माक्सिम मेडभेडेभले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।
प्रतिक्रिया