खेलकूद

थ्री नेशन्स कप फूटबल खेल्न नेपाली टोली घोषणा, नवयुगसहितका खेलाडी परेनन्

हिमालय टिभी
२०७७ चैत ११ गते १८:५१
थ्री नेशन्स कप फूटबल खेल्न नेपाली टोली घोषणा, नवयुगसहितका खेलाडी परेनन्

११ चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फूटबलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । टोलीमा स्ट्राइकर नवयुग श्रेष्ठसहित पछिल्लो समय राष्ट्रिय फूटबल टोलीबाट नियमित खेलिरहेका केही खेलाडी बाहिर छन् ।

थ्रि नेशन्स कपमा नेपालले भोलि कीर्गिज्स्तानसँग प्रतिस्पर्धा गर्दैछ । करिब ३ महिनादेखि विश्वकप छनोटको तयारीका लागि प्रशिक्षणमा रहेका ३३ जना खेलाडीबाट प्रशिक्षक बालगोपाल महर्जनले २३ जना छानेका हुन् ।

टोलीमा पूर्व कप्तान विराज महर्जनले पुनारागमन गरेका छन् । यसै प्रतियोगितापछि विराजले राष्ट्रिय टोलीबाट सन्यासको तयारी गरेका छन् । त्यस्तै, चोटमुक्त हुँदै डिफेन्डर अनन्त तामाङ पनि टोलीमा फर्किएका छन् ।

टोलीका नियमित स्ट्राइकर नवयुग, जर्जप्रिन्स कार्की, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर विकास खवास, पाल्साङ लामा, गोलकिपर विशाल श्रेष्ठ सहितका खेलाडी टोली बाहिर छन् । गोल किपरमा किरण चेम्जोङसँगै विकेश कुथु र दीप कार्की टोलीमा छन् । चेम्जोङले टिमको कप्तानी सम्हाल्ने प्रशिक्षक महर्जनले बताइसकेका छन् ।

डिफेन्समा विराज र अनन्तसँगै रन्जित धिमाल, निशान खड्का, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ छन् भने यसअघि मिडफिल्डमा खेलिरहेका उपकप्तान रोहित चन्दपनि यस पटक रक्षापंक्तिमा देखिँदै छन् । मिडफिल्डमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल र रवि शंकर पासवानले स्थान बनाएका छन् ।

त्यस्तै, स्ट्राइकरमा अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास छन् । प्रतियोगितामा घरेलु टोली नेपाल र बंगलादेशको राष्ट्रिय टोली सहभागी छ भने किर्गिस्तानबाट २३ वर्ष मुनिको टोली आएको छ । प्रतियोगितामा भोली नेपालले किर्गिज्स्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्