दाङमा लुम्बिनी प्रदेशस्तरीय बलियो नेपाल कप क्रिकेट हुने
११ चैत २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका १६ वर्ष मुनिका खेलाडीलाई समावेश गरेर दाङमा बलियो नेपाल कप क्रिकेट हुने भएको छ ।
क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपाल पोषण अभियानको सहयोगमा हुन लागेको यो प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका टिम सहभागी हुनेछन् ।
प्रतियोगतामा उत्कृष्ट प्रतिभावान महिला र पुरुष खेलाडीलाई आगामी दिनमा क्रिकेटका विभिन्न कार्यक्रममा सहभागि गराइने बताइएको छ । खेलाडी छनोट भोलिदेखि शुरु गरेर अर्को आइतबारसम्म सम्पन्न गर्ने तयारी छ ।
खेलाडी छनोटपछि चैत २१ देखि २८ गतेसम्म दाङको लमहीमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता ट्वेन्टी ट्वेन्टीको फरम्याटमा हुने छ । बलियो नेपाल पोषण अभियान गैरनाफामुलक संस्था हो ।
सन् २०३९ को विश्वकप जित्नका लागि अहिलेदेखि नै पोषणलाई प्राथमिकता दिलाउन यो अभियानले काम गरिरहेको छ । अभियानको बोर्डमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का, उमा कोइराला, बैंकर अनिल शाह लगायत छन् ।
प्रतिक्रिया