खेलकूद

लामो समयपछि गृह मैदानमा उत्रिँदै नेपाली फूटबलर, यस्तो छ उत्साह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १६:५६
लामो समयपछि गृह मैदानमा उत्रिँदै नेपाली फूटबलर, यस्तो छ उत्साह (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । तीन राष्ट्र सम्मिलित मैत्रीपूर्ण प्रतियोगितासँगै ६ वर्षपछि दशरथ रंगशालामा सिनियर फूटबल टोलीले खेल्न लागेको छ । विदेशी भूमिमा विभिन्न प्रतियोगिता खेले पनि नेपालले घरेलु दर्शक सामु खेल्न नपाएको धेरै भइसक्यो । लामो समयपछि दशरथ रंगशालामा खेल्न पाउँदा खेलाडी निकै उत्साहित छन् ।

नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेशन्स कप शरु हुनु एक दिन अगाडी सोमबार राजधानीमा प्रि म्याच कन्फ्रेन्स भयो । प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमको प्रशिक्षण सम्हालिरहेका बालगोपाल महर्जनसहित खेलाडीमा छुट्टै उत्साह देखिन्थ्यो ।

लामो समय पछि घरेलु मैदानमा घरेलु दर्शकसामू खेल्न पाउँदा उनीहरु उत्साहित थिए । २०७१ साल चैत ३ गते विश्वकप छनोट अन्तर्गत भारतविरुद्धको म्याचपछि नेपाली टिमले घरेलु मैदानमा खेल्ने अवसर पाएनन् । ७२ सालमा महाभुकम्प गयो । भुकम्पले दशरथ रंगशालामा ठूलो क्षति पुर्‌यायो ।

नेपालको एक मात्र अन्तराष्ट्रिय स्तर भनिएको रंगशाला क्षतिग्रस्त बन्दा नेपालले अन्तराष्ट्रिय खेल आयोजनाको मौका पाएन भने पाएका केहि खेल पनि एपिएफ मैदान हलचोक र एन्फा कम्प्लेक्समा खेलायो । रंगशालाको मर्मत पछि गत वर्ष मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद यहीँ सम्पन्न भयो ।

त्यो प्रतियोगितामा नेपालको २३ वर्ष मुनिका टिमले प्रतिष्पर्धा गरेको थियो । तर, सिनियर टिमले भने बल्ल अब खेल्ने मौका पाउँदैछ ।

६ वर्षकोबीचमा खासै उपलब्धि हात नलागे पनि नेपालले फिफाको वरियतामा भने केहि सुधार गरेको छ । पछिल्लो पटक घरेलु मैदानमा खेल्दै गर्दा २०७१ सालमा फिफाको वरियतामा १८० औं स्थानमा रहेको नेपाल अहिले १७१ औं स्थानमा छ ।

यो अवधिमा नेपाली टोलीले होम म्याच अन्तर्गत एन्फा कम्प्लेक्समा १ र एपिएफ मैदान हलचोकमा ३ खेल खेल्यो, अरु सब्बै खेल नेपालले विदेशमा खेल्नु पर्‌यो । कुल ४३ खेल खेल्दा नेपालले १० जित, २१ हार र १२ खेलमा बराबरी गरेको छ । यसमा चाइनिज ताइपेईलाई हराउनु नेपालको सबैभन्दा ठूलो उपलब्धी हो ।

कोरोना संक्रमणको न्यूनीकरणसँगै नेपालले बंगलादेशमा चार महिना अगाडी दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जस अन्तर्गत पहिलो खेलमा २(० ले हारेको नेपालले दोस्रो खेलमा भने घरेलु टोलीलाई बराबरीमा रोक्न सफल भयो ।
यो अन्तरालमा नेपालले आठ जना प्रशिक्षक परिवर्तन गरेको छ ।

७१ सालमा भारतविरुद्ध खेल्दै गर्दा ज्याक स्टेफानोस्की प्रशिक्षक थिए । त्यसपछि विदेशी प्रशिक्षक प्याट्रिक असेम्स, ग्योतुको कोजी र योहान कलिन नेपाल आए । त्यसैबीचमा बालगोपालले तीन पटक र ध्रुब केसीले एक पटक राष्ट्रिय टिम सम्हाल्ने मौका पाए ।

त्यस्तै, विश्वकप छनोट अन्तर्गत नेपालमै हुनु पर्ने कुवेतविरुद्धको होम म्याच भने मैदानको अवस्थाका कारण भुटानमा भएको थियो । विश्वकप छनोट अन्तर्गत नै जोर्डन, अष्ट्रेलिया र चाईनिज ताईपेइसँग हुनु पर्ने होम म्याच एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा खेलाउने निर्णय गरिसकेको छ ।

घरेलु मैदानमा विश्वकप छनोटका खेल खेलाउने प्रयास विफल भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय फुटबल आयोजना गर्न लागेको हो । एन्फाले १२ वर्षपछि पहिलो प्रतियोगिता आयोजना गरेको हो ।

यसअघि, सन् २००९ मा एन्फाले एन्फा कपको नाममा प्रधानमन्त्री आमन्त्रण प्रतियोगिता गरेको थियो । थ्री नेसन्स कप फूटबल प्रतियोगितासँगै दशरथ रंगशालामा फुटबलको माहोल फर्किनेमा एन्फासँगै सबै फूटबलप्रेमीले आशा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्