समाज

यसरी गरियो ऐतिहासिक सिम्रौनगढ क्षेत्रको ‘जियोफिजिकल सर्भे’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १४:२७
यसरी गरियो ऐतिहासिक सिम्रौनगढ क्षेत्रको ‘जियोफिजिकल सर्भे’ (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ बारा । ऐतिहासिक स्थल बाराको सिम्रौनगढ क्षेत्रको ‘जियोफिजिकल सर्भे’ गरिएको छ । सिम्रौनगढमा (जीपीआर) र ड्रोन क्यामेराबाट सर्भे गरिएको हो । ड्रोन क्यामेराले रानीबास र ईसराबती पोखरीको ३ सय मिटर क्षेत्रको भिडियो उतारेको छ ।

पुरातत्व विभागले प्राचीन र मध्यकालिन इतिहास बोकेको सिम्रौनगढ क्षेत्रको अवस्था पत्ता लगाउन अध्ययन थालेको हो । बेलायतको दुरहाम युनिभर्सिटी आर्कोलोजिकल सर्भिसका सिनियर आर्कोलोजिष्ट डाक्टर डंकन हालेसहितको टोलीले सिम्रौनगढ किल्लाको पर्खालको अवस्था बारे सर्भे गरेको छ ।

सर्भेले देखाएको आधारमा आवश्यक योजना बनाएर अघि बढ्ने पुरातत्व विभागको तयारी छ ।

सिम्रौनगढमा इटालियन टोलीसँग मिलेर पुरातत्व विभागले तीन पटक अध्ययन गरिसकेको छ । गत वर्ष जनवरीमा स्क्यानिङ गरेर हेर्दा माटाको स–साना टुक्रा र पुराना इँट्टा फेला परेका थिए ।

रानीबास दरबारको अवशेषको रुपमा बगैंचा भएको ठाउँ उत्खनन गरिएको थियो । ११ औंदेखि १३ औं शताब्दीसम्मको अवशेष रहेको सिम्रौनगढमा संरक्षण अभावमा धेरै पुरातात्विक वस्तु लोप भएका छन् ।

सिम्रौनगढ क्षेत्रको महत्व ठुला भए पनि संरक्षण हुन नसकेकोमा स्थानीयले पनि असन्तुष्टि जनाएका छन् । विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न सकिने स्थल ओझेलमा परेको उनीहरुको गुनासो छ ।

कुनै समयको साम्राज्य सिम्रौनगढ क्षेत्रको ऐतिहासिक महत्व रहे पनि प्रचार प्रसार र संरक्षण नहुँदा ओझेलमा परेको छ । स्थानीय प्रचार प्रसारका लागि आफै अग्रसर भएका छन् । यो वर्ष रामनवमीमा सिम्रौनगढमा महोत्सव गर्ने तयारी पनि भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *