समाज

खुवालुङ संरक्षण गरेरै जल यातायात चलाउन सकिन्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते २०:४६
खुवालुङ संरक्षण गरेरै जल यातायात चलाउन सकिन्छ (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । प्रदेश १ का मुख्य राजनीतिक दलले किराँत समुदायको आस्थाको केन्द्र खुवालुङ नफुटाउने गरी विकल्प खोज्न सरकारलाई आग्रह गरेका छन् । सत्तारूढ एमाले, मुख्य विपक्षी कांग्रेस, माओवादी केन्द्र लगायत दलका सात जना प्रदेश सांसदको टोलीले स्थलगत अवलोकन गरी खुवालुङ संरक्षण गरेरै जल यातायात चलाउन सकिने विकल्प दिएको छ ।

दुधकोशी, अरुण र तमोरको त्रिवेणीमा रहेको ढुङ्गा खुवालुङ किराँत समुदायको संस्कृतिसँग जोडिएको छ । जेटबोट संचालनमा अवरोध भएकाले खुवालुङ फोड्ने तयारी भएपछि अहिले चर्को विरोध भइरहेको छ ।

स्थलगत निरीक्षणमा गएको प्रदेश सांसदको टोलीले खुवालिङ जोगाएरै जल यातायात पनि संचालन गर्न सकिने निष्कर्ष निकालेको छ । टोलीले निकालेको निष्कर्ष सरकारलाई बुझाउने छ ।

जल यातायातको बिकास गर्ने उदेश्यका साथ किराँतीको आस्थाको धरोहर खुवालुङ मास्ने सरकारी नीति गलत रहेको पनि संसदको निष्कर्ष छ । खुवालुङ संरक्षण गरेर पनि जल यातायात चलाउन सकिने आधार रहेको भन्दै सांसदले यसबारे प्राविधिक अध्ययन गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

राज्यले धर्म‚ संस्कृति संरक्षण गर्नुपर्नेमा विकासको नाममा खुवालुङको इतिहास मास्न उद्यत हुनु चिन्ताजनक रहेको पनि बताएका छन् ।

सांसदको टोलीले, स्थानीयबासीन्दा र खुवालुङ संरक्षण समितिका पदाधिकारीसँग अन्तरक्रिया समेत गरेका छन् । अन्तर्क्रियामा सहभागी स्थानीय बासिन्दाले किराँतीको आस्थाको केन्द्र खुवालुङ सार्ने या फुटाउने सरकारको योजना बिफल बनाउने बताएका छन् ।

प्रदेश सरकारले सप्तकोशी र यसका सहायक नदीमा जल यातायातको विकासका लागि बजेट समेत विनियोजन गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलमार्ग सञ्चालनमा अवरोध गरेकाले खुवालुङ फुटाउने बताएपछि अहिले चर्को बहस भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *