आर्थिक

सधैं गुल्जार रहने भेडेटार अहिले यस्तो सुनसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ९ गते १८:४८
सधैं गुल्जार रहने भेडेटार अहिले यस्तो सुनसान (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ धनकुटा । कोरोना संक्रमण र संक्रमण रोक्न गरिएको लकडाउनका कारण लामो समयसम्म सबै व्यापार व्यवसाय ठप्प भए । तर अहिले लकडाउन हटेर जनजीवन पूर्ववत् अवस्थामा फर्किसक्दा समेत धनकुटाको होटल व्यवसायमा भने चमक आउन सकेको छैन । अझै पनि धनकुटाका अधिकांश पर्यटकीय क्षेत्र सुनसान नै छन् ।

पर्यटकले गर्दा बाह्रै महिना चहलपहल भइरहने पूर्वको पर्यटकीयस्थल धनकुटाको भेँडेटार कोरोनाका कारण एक वर्षदेखि सुनसान छ । पर्यटकको आवागमन ठप्प हुँदा यहाँका पर्यटन व्यवसायीलाई निक्कै समस्या छ । अब खोप पनि आएकाले कोरोना कहर सकिएला र व्यवसायले गति लेला भन्ने आशामा छन् व्यवसायी ।

भेडेटार मात्र नभई धनकुटाका सम्पूर्ण पर्यटकीयस्थल र होटल सुनसान छन् । भेडेटारसहित राजारानी, डाँडाबजार, नाम्जे, नमस्ते झरना, मुलघाट, हिले, पाख्रिबास पटकेडाँडा धनकुटाका मुख्य पर्यटकीय स्थल हुन् ।

यी पर्यटकीय स्थलमा आउने पर्यटकलाई लक्षित गरेर तीन सयभन्दा बढी होटल स्थापना भएका छन् । जसमा भौतिक संरचनामा मात्र ३ अर्बभन्दा बढी लगानी छ । सबै होटलमा गरी दुई हजारभन्दा बढी कामदार आश्रित छन् । होटल व्यवसाय फस्टाउन नसक्दा बैंकको ऋण तिर्न र कर्मचारी व्यवस्थापन गर्नै मुस्किल छ । जसले गर्दा होटल व्यवसाय टिकाउनै समस्या छ ।

पर्यटकीयस्थलमा चहलपहल बढाउन तथा व्यवसाय पूर्ववत् अवस्थामा फर्काउन पर्यटन प्रवर्द्धनको कार्यक्रम अघि बढाउनु पर्ने व्यवसायीको माग छ ।

भारतसँगको सिमा खुल्ने र भारतबाट पर्यटक आउने आशामा रहेका व्यवसायी पर्यटन प्रवर्द्धनको कार्यक्रम अघि बढाउनु पर्ने पक्षमा रहे पनि त्यसको संभावना छैन । नेपालसँगै सिमा जोडिएका भारतीय शहरमा फेरि संक्रमण बढेको छ ।

यस्तै सरकारले पनि कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । अब आउँदा दिनमा कोरोनाको कहर के हुने हो कुनै टुंगो छैन । जसले गर्दा होटल तथा पर्यटन क्षेत्रका व्यवसायी अन्यौलमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *