खेलकूद

थ्री नेशन्स कप फूटबलमा नेपालको उत्कृष्ट प्रदर्शनको तयारी

हिमालय टिभी
२०७७ चैत ९ गते १८:०९
थ्री नेशन्स कप फूटबलमा नेपालको उत्कृष्ट प्रदर्शनको तयारी

९ चैत २०७७ काठमाडौं । भोलिदेखि हुन लागेको थ्री नेशन्स कप फूटबलमा घरेलु टोली नेपालले उत्कृष्ट प्रदर्शन गर्ने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

प्रतियोगिताअघि भएको प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक महर्जनले जित हार भन्दा पनि यो प्रतियोगितामा राम्रो प्रदर्शनका लागि मैदान उत्रने बताएका हुन् । पाहुना टोली कीर्गिस्तान र बंगलादेशबीच भोलि हुने पहिलो खेलपछि आफ्नो टोलीको रणनीति बनाउँदै घरेलु मैदानमा स्तरीय प्रदर्शन गर्ने उनको दाबी छ ।

टोलीमा नयाँ र अनुभवी खेलाडीको मिश्रण रहेको र एक दुई जनाबाहेक सबै खेलाडी पूर्णरुपमा फिट रहेको उनले बताए । प्रतियोगितामा नेपालको कप्तानी किरणले गर्नेछन् ।

भारतमा आई लीग खेलिरहेका किरण यसै प्रतियोगिताका लागि आजै नेपाल आउँदै छन् । यस्तै महर्जनले उपकप्तानको जिम्मेवारी अनुभवी मिडफिल्डर रोहित चन्दलाई दिएका छन् । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेल रोकिएपछि निराश खेलाडीहरु यो प्रतियोगिताले उत्साहित भएको रोहितले बताए ।

विश्वकप छनोटका खेल कुवेतमा सरेपछि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा बंगलादेश र नेपालबाट सिनियर टोलीले नै खेल्नेछन् भने कीर्गिस्तानले २३ वर्ष मुनिको टोली पठाएको छ ।

दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा भोलि कीर्गिस्तान र बंगलादेश खेल्ने छन् । नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग १२ गते खेल्नेछ । १४ गते नेपालले बंगलादेशको सामना गर्नेछ ।

राउण्ड रोबिन लीगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्नेछ । कुल ४ खेल हुने प्रतियोगिताको फाइनल १६ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्