खेलकूद

ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिता चैत तेस्रो सातादेखि

हिमालय टिभी
२०७७ चैत ९ गते ६:१५
ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिता चैत तेस्रो सातादेखि

९ चैत २०७७ काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिता यही चैत २१ देखि २८ गतेसम्म हुनेछ । प्रतियोगिताका लागि क्यान र ललितपुर महानगरपालिकाबीच यसअघि सम्झौता भइसकेको छ ।

सम्झौताअनुसार ललितपुर महानगरपालिकाले रु २० लाख उपलब्ध गराउने छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालको महिला क्रिकेटलाई अगाडि बढाउने उद्देश्यका साथ क्यानलाई सहयोग गरेको बताउनुभयो । क्रिकेट प्रतियोगिता सञ्चालन गर्न आगामी दिनमा पनि क्यानलाई सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले महिला क्रिकेट प्रतियोगिताका लागि ललितपुर महानगरपालिकासँग गरिएको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताउनुभयो । टी–२० महिला क्रिकेट प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत पुसमा सम्पन्न प्रधानमन्त्री कप महिला प्रतियोगिताको सेमिफाइनल खेलेका प्रदेश नं १, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको टोली तथा ललितपुर महानगरपालिकाको टोलीले सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले एक लाख ५० हजार, उत्कृष्ट खेलाडीले रु २५, उत्कृष्ट ब्याट्सवुमन र उत्कृष्ट बलरले जनही रु १५ हजार तथा ‘प्लेयर अफ दी म्याच’ले रु तीन हजार पुरस्कार प्राप्त गर्नेछन् । यसअघि गत महिना काठमाडौैँ मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता भएको थियो ।

सो प्रतियोगिताको उपाधि पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै जितेको थियो । उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता एपिएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगितामा पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ को टोली सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्