आर्थिक

८ महिनाको व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ९ गते ६:०५
८ महिनाको व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ माथि पुगेको छ । आयात बढेको र निर्यात सामान्य नै रहेकाले ब्यापार घाटा पोहोर भन्दा सामान्य बढेर ८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।

बढ्दो आयात र कमजोर निर्यातले व्यापार घाटा बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यो पोहोर भन्दा १।६३ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको शुरुको ८ महिनामा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । कोरोना भाइरस महामारीमा केही सुस्ताएको आयात अहिले कोरोनाकाल भन्दा अगाडिकै स्थितिमा पुगेको छ । तर, निर्यात औसत हुँदा त्यसो असर व्यापार घाटामा देखिएको हो ।

नेपालको आयात माघदेखि नै कोरोनाकालको भन्दा अघिकै स्थितिमा पुगेको थियो । जसले फागुनमा पनि निरन्तरता पाएको छ । फागुनसम्ममा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आवको यसै अवधिमा ९ खर्ब २४ अर्ब २४ करोडको वस्तु आयात भएको थियो ।

पोहोर फागुनसम्ममा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्र कुनै असर गरेको थिएन । चालु आर्थिक वर्षको फागुनसम्ममा आयात पोहोरको तुलनामा २ दशमलव १४ प्रतिशत बढेको छ ।

आयात बढे पनि त्यसको तुलनामा निर्यात बढ्न सकेको छैन । ८ महिनाको अवधिमा नेपालले मात्र ८० अर्ब ७१ करोड रुपैयाँको निर्यात गरेको छ । पोहोर यसै अवधिमा ७४ अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यो आर्थिक वर्षमा नेपालले गरेको निर्यातले पेट्रोलियम पदार्थ आयात समेत धान्न सक्दैन । आठौं महिनासम्म आइपुग्दा नेपालमा १ खर्ब २१ अर्ब ६१ करोड रुपैयाँ बराबरको पेट्रोलिमय पदार्थ आयात भएको छ ।

निर्माण क्षेत्रमा बढी प्रयोग हुने फलाम तथा स्टीलको आयात समेत १ खर्ब नजिक पुगेको छ । यो अवधिमा यस्तो वस्तुको आयात ९४ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा ६२ अर्ब ८३ करोड रुपैयाँ बराबको सवारी साधन र त्यसको पार्टपूर्जा आयात भएको छ । यस्तै ७१ अर्ब ४३ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान नेपाल आयात भएको छ । यसमा मोबाइलको हिस्सा अधिक छ । यो अवधिमा नेपालले तरकारी मात्र २५ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ ।

चालु आर्धिक वर्षमा नेपालले १ सय ५१ देशसँग वैदेशिक व्यापार गरेको छ । सबैभन्दा धेरै व्यापार भारतसँग छ । तथ्यांक अनुसार ८ महिनाको अवधिमा भारतबाट ६ खर्ब २२ अर्ब ३० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसअवधिमा निर्यात भने मात्र ५८ अर्ब १९ रहेको छ । यसले भारतसँग व्यापार घाटा ५ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ देखिएको छ ।

यस अवधिमा चीनतर्फ मात्र ६१ करोडको सामान निर्यात भएको छ भने आयात १ खर्ब ३६ अर्ब १९ करोड रुपैयाँ बराबरको भएको छ । चीनसँग १ खर्ब ३५ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । अमेरिकाबाट ११ अर्ब ३२ करोडको सामान आयात भएको छ भने ८ अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको छ । तुलनात्मक रुपमा अमेरिकासँगको व्यापार सन्तुलित देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *