समाज

तारको जालले कुरुप बाग्लुङ बजार, बढ्यो दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १६:४६
तारको जालले कुरुप बाग्लुङ बजार, बढ्यो दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ बागलुङ । जथाभावी रूपमा टाँगिएका तारका कारण बागलुङ सदरमुकाममा दुर्घटनाको जोखिम बढेको छ । बागलुङ बजारका हरेक विद्युतका पोलमा अहिले माकुराको जालोजस्तै तार देखिन्छ । यो जालोले दुर्घटनाको जोखिम बढाए पनि व्यवस्थापनका लागि सरोकारवालाको ध्यान गएको छैन ।

बागलुङ बजारका सबै जसो क्षेत्रमा इन्टरनेटका तारले बजारलाई कुरुप मात्रै बनाएको छैन दुर्घटनाको जोखिम समेत बढाइरहेको छ । अव्यवस्थित तारका कारण आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपतमा झनै जोखिम हुने गरेको छ ।

बजारभित्रका मुख्य सडक, चोक, तथा गल्ली गल्लीमा भुइँ छुने गरी लत्रिएका तार व्यवस्थापन नहुँदा जुनसुकै बेला दुर्घटना हुने देखिन्छ । बजारभित्र प्रवेश गर्ने ठूला सवारी साधनका चालकलाई पनि तारले हैरान पार्ने गरेको छ ।

नेपाल विद्युत प्राधिकरण बागलुङले अव्यवस्थित तार व्यवस्थापनका लागि पटकपटक सेवा प्रदायकलाई पत्र काटे पनि अटेरी भैरहेको गुनासो गरेको छ ।

बजारभित्र लथालिङ्ग तार व्यवस्थापन गर्न निर्देशन दिएको वर्षौ बितिसक्दासमेत त्यो व्यवहारिक रूपमा कार्यान्वयन नहुँदा बाग्लुङ नगरपालिका पनि हैरान छ ।

तारले कुरुप भएको बजार राम्रो देखाउन मात्रै हैन दुर्घटना न्यूनीकरण गर्न पनि तारको व्यवस्थापन हुनु आवश्यक छ । त्यसका लागि सरोकारवाला निकायले लाचारी देखाउने होइन, एक्सनमा जानु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *