आर्थिक

१३९ मिटर अग्लो छाँगे झरनामा आन्तरिक पर्यटक बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १५:०६
१३९ मिटर अग्लो छाँगे झरनामा आन्तरिक पर्यटक बढ्दै (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ भोजपुर । भोजपुरको सबैभन्दा अग्लो छाँगे झरनामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । षडानन्द नगरपालिका वडा नम्बर ३ मा रहेको १ सय ३९ मिटर अग्लो छाँगे झरनामा आन्तरिक पर्यटकहरु बढ्न थालेको हो ।

भोजपुरको पर्यटकीय क्षेत्र छाँगे झरनामा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । चर्चामा आएसँगै प्रदेश सरकारको लगानीमा झरनासम्म जाने करिब ७ सय सिढी निर्माण भएपछि पर्यटकको अकर्षण बढेको छ ।

१ सय ३९ मिटर उचाई रहेको यो झरना भोजपुरको सबैभन्दा अग्लो झरना हो । धार्मिक आस्था राखिने यो क्षेत्रलाई छाँगेधाम भनेर पनि चिनिन्छ । छाँगे धाम र झरनासँगै भएकाले धार्मिक पर्यटक तथा मनोरञ्जनात्मक ढंगबाट आउने पर्यटकको संख्या बढेको छ।

धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विस्तारै चर्चामा आउँदै गरेको यस क्षेत्रमा पुग्ने पर्यटकहरुले पूर्वाधार बनाउन सुझाव दिएका छन् ।

प्रचार प्रसारका साथै पर्यटकहरुका लागि व्यवस्थित होमस्टे, होटल साथै बाटोहरु व्यवस्थित गर्ने हो भने पर्यटक अझ बढ्न सक्छ । यस क्षेत्रमा भएको सांस्कृतिक महत्वको विषय र धार्मिक विषयलाई व्यवस्थापन गर्न सके बाह्य पर्यटकको आकर्षण बढ्ने देखिन्छ ।

आगामी दिनमा यसलाई थप पर्यटकीय क्षेत्र निर्माण गर्न र भौतिक संरचनाहरुलाई व्यवस्थित बनाउन लागि पर्ने जनप्रतिनिधिको प्रतिबद्धता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *