समाज

भैरहवा बजारकै सामुदायिक विद्यालयमा एउटै कोठामा दुईवटा कक्षा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ६ गते ७:०३
भैरहवा बजारकै सामुदायिक विद्यालयमा एउटै कोठामा दुईवटा कक्षा (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी अहिले स्थानीय तहमा छ । तर सरकारी विद्यालयहरुको अवस्था भने नाजुक छ ।

रुपन्देही सदरमुकाम भैरहवाको मुख्य बजारमा रहेको एउटा सामुदायिक विद्यालयमा एउटै कोठामा दुइवटा कक्षा त्यो पनि एउटै समयमा संचालन भइरहेको छ । कक्षा कोठा नभएपछि यसो गर्नु बाध्यता भएको विद्यालयको दाबी छ ।

यो समस्या भैरहवास्थित लिलाराम न्यौपाने माध्यमिक विद्यालयको हो । यहाँ कक्षा १ र २ को पढाई भइरहेको छ । विद्यालयमा कक्षा कोठाको अभाव भएपछि अहिले विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर दैनिक रुपमा यसरी नै पढाउने गरिएको छ । कक्षा १ को सामाजिक र कक्षा २ को गणित विषय पढाई भइरहेको छ । एउटा कोठा कक्षा दुइवटा र विषय पनि फरकफरक । यस्तोमा विद्यार्थीले कसरी बुझ्नु ः?

२०१२ सालमा स्थापना भएको जिल्लाकै पुरानो मध्येको विद्यालय भए पनि यहाँ भौतिक संरचनाको अभाव छ । दाताले बनाइदिएका भवन छन् । बाल कक्षादेखि १२ कक्षा र प्राविधिकतर्फ डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ्गको पढाई समेत हुने गरेको छ ।

विद्यालयको कुनै आन्तरिक आयश्रोत छैन । भवन अभावले कक्षा १ र २ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयको गुनासो छ ।

कक्षा कोठा अभाव रहेकोबारे विद्यालयले शिद्धार्थनगर नगरपालिकालाई पनि पटकपटक जानकारी गराएको छ । तर कुनै सुनुवाइ भएको छैन । बजेट कम भएकाले तत्काल कक्षा कोठा थप्न नसक्ने नगरपालिकाको जवाफ छ ।

सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गरेर विद्यार्थी संख्या बढाउनुपर्ने बाध्यता छ । तर सामुदायिक विद्यालयमा पर्याप्त मात्रामा भौतिक संरचना नहुँदा विद्यार्थी दुइवटा कक्षा एउटै कोठामा पढन बाध्य छन् ।

सरकारले शिक्षालाई प्राथमिकता दिइरहेको दाबी त गरिरहेको छ तर यस्ता विद्यालय सुधारका लागि चासो भने देखाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *