खेलकूद

चेल्सी र वायर्न म्युनिख च्याम्पियन्स लीगको क्वाटरफाइनल प्रवेश

हिमालय टिभी
२०७७ चैत ५ गते ७:५७
चेल्सी र वायर्न म्युनिख च्याम्पियन्स लीगको क्वाटरफाइनल प्रवेश

५ चैत २०७७ काठमाडौं । चेल्सी र साविक विजेता वायर्न म्युनिख च्याम्पियन्स लीग फूटबलको क्वाटरफाइनल प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–० गोलले हराउँदै समग्रमा ३–० को नतिजासहित चेल्सी अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा इंग्लिस क्लब चेल्सीको जितमा हाकिम जियच र इमर्सनले एक(एक गरे । जियचले ३४औं र इमर्सनले अन्तिम समयको इञ्जुरी समयमा गोल गरेका थिए ।

उता ८१औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको दश खेलाडीमा सिमित भएको थियो । यसअघि रोमानियामा भएको पहिलो लेगमा चेल्सी १–० ले विजयी भएको थियो । चेल्सीको यो सात वर्षपछि च्याम्पियन्स लीगमा क्वाटरफाइनल यात्रा हो ।

यस्तै प्रिक्वाटरफाइनल अन्तर्गत अर्को खेलमा इटालियन क्लब लाजियोमाथि २–१ को जित निकाल्दै समग्रमा ६–२ गोलको नतिजासहित वायर्न म्युनिखले पनि अन्तिम आठमा स्थान पक्का पारेको छ ।

जर्मन क्लब वायर्नले घरेलु मैदानमा ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलसँगै अग्रता बनाएको थियो । त्यसपछि वायर्नका लागि ७३औं मिनेटमा इरिक म्याक्सिम कउपो मोटिङले गोल थपेका थिए ।

लाजियोका लागि ८२औं मिनेटमा मार्को पारोलोले सान्त्वना गोल गरे । अवे मैदानमा पहिलो लेग वायर्नले ४–१ ले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्